तुलसीपुर उपमहानगरपालिका–३ सातबासस्थित प्राथमिक विद्यालय कल्ले राम्रीकोटका बालबालिकाले यसपालि विशेष उपहार पाए। आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा ‘इगल खबर’ले कक्षा १ देखि ५ मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो।

मंगलबार आयोजित कार्यक्रममा ३० थान झोला, ३० दर्जन पेन्सिल र १५ दर्जन कापी वितरण गरिएको थियो। ‘एच. आर. मिडिया हाउस प्रा.लि’ अन्तर्गत सञ्चालित ‘इगल खबर’का सञ्चालक एच. आर. मगरका अनुसार सामग्री खरिदका लागि गोलोवल ओरेन्स नेपाल, तुलसीपुर बिक्री केन्द्रसँग सहकार्य गरिएको थियो। वितरण गरिएको सामग्रीको मूल्य करिब ३० हजार रुपैयाँ बराबर रहेको उनले बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले दुर्गम क्षेत्रमा पुगेर बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउनु समाजप्रतिको जिम्मेवारीबोधको उत्कृष्ट उदाहरण भएको बताए। त्यस्तै, वडा सदस्य राजेन्द्र गुरुङ र नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेतले पनि ‘इगल खबर’को यो सामाजिक उत्तरदायित्वलाई प्रशंसनीय भने।
विद्यालय सञ्चालक समितिका अध्यक्ष शालिकराम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर गुरुङले विद्यालयमा हाल ४१ जना विद्यार्थी भए पनि नियमित उपस्थिति करिब ३० जनाको मात्र हुने जानकारी दिए।
शैक्षिक सामग्री पाएकी कक्षा ४ की छात्रा सृष्टि घर्तीले निःशुल्क झोला, कापी र पेन्सिल पाउँदा निकै खुसी लागेको बताइन्।

