मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । तर, उसको घोषणापत्रमा विभिन्न विरोधाभास देखिएको छ ।

राप्रपाले प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको शासकीय संरचनाको परिकल्पना गरेको छ । तर स्वास्थ्य क्षेत्रको योजनामा भने राप्रपाले वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन गर्ने उल्लेख गरेको छ ।
स्वास्थ्य क्षेत्रको पहिलो बुँदामा नै राप्रपाले भनेको छ, ‘काठमाडौंको वीर अस्वतालस्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन गरिनेछ ।’
राप्रपाले आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई निःशुल्क गर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याउने र सबै बीमितले आफूले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था गर्ने बताएको छ । समयक्रममा सबै स्वास्थ्य सेवा निशुल्क गर्ने राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ ।
सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडलाई सुदृढ बनाई अत्याश्यकीय औषधिको गुणस्तरीय उत्पादन गर्ने, वडा स्वास्त्य केन्द्रमार्फत वडाका प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गर्ने, ज्येष्ठ तथा अशक्त नागरिकको घर दैलोमा स्वास्थ्य सेवा पुर्याउने पनि राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ ।

