कोभिड-१९ को संक्रमण रोकथामको लागि प्रत्यक्ष रुपमा संलग्न भई अग्रपंक्तिमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी बाहेक सार्वजनिक निकायमा कार्यरत पदाधिकारी वा कर्मचारीले पाउने अतिरिक्त भत्ता कटौती हुने भएको छ ।
यो वर्ष प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरे बापतको भत्ता, जोखिम भत्ता, विशेष भत्ता, खाना वा खाजा खर्चलगायत सुविधा भने कर्मचारीले पाउने छैनन् । तर, साविकमा दिइँदै आएको पोशाक खर्च, महंगी भत्ता र स्थानीय भत्ता भने यथावत रहने छ ।
सुरक्षाकर्मीको भत्ताको सन्दर्भमा भने कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीमध्ये कुल कार्यरत संख्याको १० प्रतिशतमा नबढ्ने गरी मिति २०७६ चैत्र १६ देखि बन्दाबन्दी कायम रहेको मिति २०७७ साउन ६ सम्मको प्रोत्साहन रकम खटिएका सुरक्षाकर्मीको जोखिम वर्गीकरण सहितको अभिलेख सम्बन्धित सुरक्षा निकायबाट प्रमाणित गरी प्राप्त भएपछि अर्थमन्त्रालयले उपलब्ध गराउने भएको छ ।
यस्तो निर्णय भने नेपाल सरकारले २०७६ चैत्र १६ मै गरेको थियो । सोहीअनुसार अर्थ मन्त्रालयले स्रोतको उपलव्धताको आधारमा रकम निकासा दिने भएको छ ।
सार्वजनिक निकायले कार्यालय कार्यकक्ष वा सरकारी आवासको सजावटसम्बन्धी खर्च गर्नुपर्दा शहरी विकास मन्त्रालयले बनाएको सरकारी आवास वा कार्यालय कार्यकक्ष सजावट सम्बन्धी मापदण्ड अनुसार गर्नुपर्ने अर्थको निर्देशन छ ।