• एउटै दृष्टि, भिन्न कोण
  • Search

रुरु क्षेत्रलाई नमूना धार्मिक पर्यटन केन्द्र बनाउने योजना अघि बढ्दै

काठमाडौ २०७७ मङ्सिर २३ गते मङ्गलवार

रुरु क्षेत्रलाई आर्कषक पर्यटकीय केन्द्र बनाउने योजना अनुसार रिडीमा कालीगण्डकी नदी तथा रिडी खोला नियन्त्रण आयोजनाको आज माननीय मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गर्नुभयो ।
रुरु क्षेत्रमा पर्यटन पूर्वाधार विकासका लागि ७९ वटा कार्यक्रममध्येको तटबन्ध एक हो । सगुन जेभीले दुईवर्ष ६ महिना सक्ने गरी ३४ करोड २० लाख ६० हजार रुपैंयामा ठेक्का लिएको छ ।
सो अवसरमा बोल्दै मुख्यमन्त्रीले रिडीको धार्मिक र ऐतिहासिक महत्वलाई बढाउन र आर्कषक गन्तव्य बनाउन प्रदेश सरकारले प्राथमिकताका साथ काम अघि बढाएको बताउनुभयो । उहाँले तटबन्ध मात्रै नभएर अब समग्र आयोजना अघि बढ्ने र बजेटको कुनै समस्या नहुने बताउँदै समयसीमाभित्रै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले राज्यको लगानी र समुदायको अपनत्वबाट मात्रै विकासको प्रतिफल प्राप्त गर्न सकिने भएकाले सबै मिलेर प्रतिफल प्राप्त गर्न अघि बढ्नुपर्ने बताउनुभयो ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले पर्यटन पूर्वाधार विकासमा प्रदेश सरकारले प्राथमिकताका साथ काम गरेको बताउनुभयो । उहाँले धार्मिक स्थल रिडीको विकास अब गुरुयोजना अनुसार अघि बढ्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे, प्रदेशसभा सदस्य कमल श्रेष्ठ, तानसेन नगरपालिका प्रमुख अशोक शाही, रुरु क्षेत्र गाउँपालिका प्रमुख निलकण्ठ गौतम, कांग्रेस जिल्ला सभापति भुवन श्रेष्ठ लगायतले बोल्दै रिडी र पर्यटन विकासका सन्दर्भमा आआफ्नो मन्तव्य राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस