रोल्पा नगरपालिकाको जङ्कोट क्षेत्रमा क्रियाशील माडी जलजला युवा क्लबले केही सञ्चार माध्यममा आएको एम्बुलेन्स सम्बन्धी समाचारबारे ध्यानाकर्षण भएको जनाउँदै समाचारमा पूर्वाग्रह रहेको टिप्पणी गरेको छ ।
क्लबका अध्यक्ष ध्रुवचन्द्र पुनमगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा वि.सं. २०६९ सालदेखि सञ्चालनमा ल्याई सेवा प्रवाहमा निरन्तरता दिइरहेको उल्लेख छ ।
´उक्त एम्बुलेन्सले १० वर्षभन्दा बढी सेवा दिइसकेको छ’ विज्ञप्तीमा भनिएको छ, ‘खासमा एम्बुलेन्सहरु १० वर्षभन्दा बढी नचलाउने नियम छ, तर सुचारु अवस्थामा छ भने रोकतोक त थिएन । त्यसैले १० वर्ष कटेको भएपनि चलिरहेको थियो ।’ राष्ट्रिय एम्बुलेन्स निर्देशिका –२०७८ ले एम्बुलेन्सहरुलाई वर्गीकरण गरी निर्देशिका लागु हुँदाका समयमा ‘ग’ वर्गका एम्बुलेन्सहरु ५ वर्षभित्रका छन् भने सुविधा थप गरेर ‘ख’ वर्गमा स्तरोन्नति गर्न र ५ वषै कटिसकेका भए विस्तारै विस्थापित गर्दै लैजाने भनि पत्राचार गरेको पनि उल्लेख छ ।
विभिन्न व्यक्ति र व्यक्तित्वहरुको नामसमेत जोडेर समाचार ल्याउनु निन्दनीय र घोर आपत्तिजनक विषय रहेको विज्ञप्तीमा उल्लेख छ । त्यतिमात्र नभइ भारत सरकारको स्वतन्त्रता दिवसकै दिन यस्तो समाचार प्रकाशित गरिनु सहयोगी दाता र सम्बद्ध निकायहरुलाई नकारात्मक सन्देश जाने बताइएको छ । यथार्थ धरातल नबुझी देखेकै भरमा सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी पर्नुका साथै सामाजिक सद्भाव, सहिष्णुता र सहयोगी भावनामा समेत ठेस पुग्ने भएकाले त्यसतर्फ सचेत रहन विज्ञप्तीमा सार्वजनिक अपिल गरिएको छ ।
क्लवका अध्यक्ष पुनले रोल्पाबाट निर्वाचित संघीय सांसद वर्षमान पुनको अनावश्यक नाम जोडेर क्लबको काँधमा बन्दुक राखेर वर्षमानलाई प्रहार गरेको दाबी गरे । ‘हाम्रो भन्दा पहिले नै अलपत्र परेका चल्ने सम्भावना नै नभएका अन्य एम्बुलेन्सहरु पनि बेवारिसे छन्’ अध्यक्ष पुनले भन्छन्, ‘यसमा बिशुद्ध एम्बुलेन्सको भन्दा पनि क्लबको माध्यमबाट योजनावद्ध वर्षमानलाई प्रहार गर्ने उद्देश्यले सार्वजनिक गरिएको छ ।’
पछिल्लो समय मर्मत गरे पनि क्लबको विभिन्न अवस्थाले चलाउन समस्या भएकाले केही महिनादेखि चालकले घरअगाडि पार्किङ अवस्था राखेको र लिलाम गर्ने वा कसरी चलाउने भन्ने विषयमा क्लबमा छलफल भइरहेका सन्दर्भमा पूर्वाग्रही तरिकाले समाचार आएको भन्दै अध्यक्ष ध्रुवचन्द्र पुनले असन्तुष्टि जनाए । उनले कानूनी प्रक्रिया पु¥याएर लिलाम गर्ने मनसायका साथ पार्किङ गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।


