लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा पुगेर स्थानीयसँग अन्तरक्रिया गर्दै थवाङलाई सुविधासम्पन्न सडकले जोड्ने र सांस्कृतिक पर्यटनको आर्कषक केन्द्रको रुपमा विकास गर्ने बताएका छन्। थवाङवासीसँग मुख्यमन्त्रीले गरेको प्रतिबद्धता केवल आश्वासन मात्रै थिएन, त्यो प्रतिबद्धता गरेको ठीक एकवर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

अहिले रोल्पाको सुलीचौर—थवाङ सडक निर्माण शुरु भएको छ। सडकको मुख्यमन्त्रीले शिलान्यास गरे। सडक शिलान्यास गर्दै उनले पुनः प्रतिबद्धता व्यक्त गर्दै थवाङलाई आर्कषक सांस्कृतिक पर्यटनको केन्द्र बनाइने बताएका छन्। अहिलेलाई दुईवर्षमा काम सक्ने गरी २१ करोड ६३ लाख ८३ हजारमा निर्माण कम्पनीले ठेक्काको काम लिएको छ।
सुलीचौर—थवाङ सडक निर्माणले महेन्द्र राजमार्ग र पुष्पलाल मध्यपहाडी राजमार्गलाई एकआपसरमा जोड्ने छ। पूर्वी रुकुम र पूर्वी रोल्पाका बासिन्दाका लागि आवतजावतको छरितो सडक हुनेछ। थवाङ हुँदै ढोरपाटन शिकार आरक्ष जाने र आउने पर्यटकका लागि सहज हुनेछ। पर्यटन विकासको यो एउटा गेटवे हुनेछ। यही परिकल्पनालाई साकार पार्न यो सडक निर्माृणको कामलाई गुणस्तरीय र समयसिमामा पूरा गर्न निर्देशन दिदै उनले बजेटको अभाव हुन नदिइने बताए।