• एउटै दृष्टि, भिन्न कोण
  • Search

दाङको दुर्गम पहाडी गाउमा रेडक्रसको प्रशंसा

दाङ २०७८ असोज १४ गते बिहिवार

दाङको कर्णाली भनेर चिनिने बंगलाचुली गाउँपालिका भौगोलिकको दृष्टिकोणले विकट छ । भौगोलिक नै विकट भएपछि त्यहाँको स्वास्थ्य, शिक्षालगायतका अन्य क्षेत्रको सहजै विकास हुने कुरै भएन । त्यहाँको पूर्वाधारको विकासको लागि आवश्यक पर्ने सामग्रीहरू पैसा तिरेर पनि ढुवानीहरूले लिन मान्दैनन् भन्ने स्थानीय तथा जनप्रतिनिधिहरूले गुनासो गरिरहदा नेपाल रेडक्रस सोसाइटी दाङ ले आफै विकट बस्ती खोज्दै स्थानियको सहयोगी बनेको छ ।

नेपाल रेडक्रस सोसाईटी दाङ जिल्ला शाखाले सन् २०१८ जुलाईदेखि २०२१ सेप्टेम्बरसम्म दुईवटा परियोजना सञ्चालन गरेको थियो । जुन समयमा घोराहीदेखि बंगलाचुली गाउँपालिकामा जानको लागि ट्रयाक मात्र खोलिएको थियो । सडकको रूप लिएको थिएन् । भौगोलिक रूपले पनि काम गर्न सहज थिएन् । विकट बस्तीमा काम गर्ने उद्देश्य लिएर अगाडी बढेको रेडक्रस अन्तः सफल भएर नै छोडेको छ ।

रेडक्रसले बंगलाचुली गाउँपालिकामा स्वास्थ्यका लागि सामुदायिक सहकार्य र खानेपानी, सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्य गरेर दुईवटा परियोजना सञ्चालन गरेर आफ्नो उद्देश्य पूरा गरिसकेको छ । यसै क्रममा नेपाल रेडक्रस सोसाईटी दाङ जिल्ला शाखाले बंगलाचुली गाउँपालिकामा त्यहाँका स्थानीयहरूलाई सहभागी गराएर परियोजना सम्पन्न भएको जानकारी गराउँदै अन्तिम समीक्षा कार्यशालाको आयोजना गरेको थियो ।

कार्यशालामा सहभागीहरूले विकट बस्तीमा आएर यहाँका स्वास्थ्यका लागि गरिएका सचेतनामूलक कार्यक्रम, भौतिक पूर्वाधार सहयोग, खानेपानीलगायतका क्षेत्रमा गरिएका कामहरू प्रभावकारी भएकाले निरन्तरताको माग गरेका थिए । ‘फिल्टरको नामै नसुनेका, नदेखेका मेरा विद्यार्थीहरूले हिजोआज फिल्टरको पानी पिउन थालेका छन्, हिजो आफ्नोसमेत सरसफाई नगर्ने विद्यार्थीहरू विद्यालय सफा गर्ने भएका छन्, कक्षाकोठा सफा गर्न भएका छन् । यो सबै देन नेपाल रेडक्रस सोसाईटीको हो’ मूलाबारी भेडावारीका प्रअ खगराज लम्सालले यसरीले नेपाल रेडक्रस सोसाईटीले सञ्चालन गरेका परियोजनाको बारेमा समीक्षा गरेका थिए ।

कार्यशालामा सहभागी प्रअ लम्सालले रेडक्रसले शिक्षा क्षेत्रमा विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गरेर उल्लेखनीय काम गरेको बताए । उनले यो कामलाई निरन्तरता दिनसमेत सुझाव दिए । ‘शुद्धिकरण नगरिएको पहाडको पानी पिउदा विद्यार्थीहरूको स्वास्थ्यमा समस्या देखिन्थ्यो, अहिले निकै कम भएको छ’ उनले भने ‘रेडक्रसका सरहरू आएर यहाँ विद्यार्थीहरूलाई स्वास्थ्य सम्बन्धी सचेतना गराउनुभयो, विद्यालयलाई फिल्टर सहयोग गर्नु भएको छ, यसप्रति हामी निकै नै आभारी छौ ।’

रेडक्रसले र विद्यालयको सहकार्यले विद्यार्थीहरूको सरसफाईमा प्रभाव परेको समेत उनले बताए । ‘सहकार्यले धेरै काम गर्न सहज हुने महसुस भएको छ’ प्रअ लम्सालले भने ‘यस्तो विकट ठाउँमा आएर विद्यालयको लागि राम्रो काम गर्नु भएको छ, यो पूर्णता होईन्, हामी अझै सहकार्य गर्न चाहन्छौं ।’

‘रेडक्रसका प्राविधिक टोली आएर खाने पानीको ट्यांकीको लागि सर्वेक्षण गर्नुभयो, धेरै पैसा लाग्ने भएकाले योजनामा परेको थिएन, शुरूमा त हामीले विश्वास नै गरेका थिएनौं’ विर्खे खाने पानी संस्थाका अध्यक्ष लेलबहादुर पाटा मगरले परियोजनाको समीक्षा गर्दै भने ‘दुईवटा लिफटिङ् पानी ट्यांकी निर्माण भएर पनि घर–घरमा पानीको धारा पुगेको छ, हामी दंग छौँ ।’
खानेपानीको समिति गठन गरेर ट्यांकीको मर्मत, सम्भार, हेरचाह गर्ने गरेको उनले बताए । परियोजनाले विकट बस्तीको सबैको घर–घरमा पानी पुग्न सफल भएकोमा उनले खुशी व्यक्त गरे । गाउँमा अन्य धेरै कामहरू बाँकी रहेकाले नयाँ योजनामार्फत परियोजनालाई निरन्तरता दिन उनको सुझाव छ ।

रेडक्रस आएदेखि नै विद्यालयमा शौचालय बनेको, सरसफाई भएको महेन्द्र माविका छात्रा महश खनालले भने । ‘पहिला स्कुलमा शौचालय थिएन्, पानी थिएन्’ उनले भने ‘अहिले ति सुविधा भएर धेरै साथीहरू सधै स्कुल जान्छम्, अझै धेरै कार्यक्रमहरू लिएर आउनुहोला ।’ बंगलाचुली गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले गाउँपालिकामा स्वास्थ्यको तथ्याङ्क सुधारमा रेडक्रसको उल्लेख्य भूमिका भएको बताए । ‘यहाँको जीवन सुधारको लागि रेडक्रसको सहयोग छ, योगदान छ’ उनले भने ‘कार्यक्रम निरन्तरता भए अझै धेरै काम गर्न सहज हुन्थ्यो ।’

कार्यशालामा सहभागीहरूले परियोजनाले गाउँमा स्वास्थ्य, खानेपानी, शिक्षाको क्षेत्रमा प्रभावकारी काम गरेकाले निरन्तरता दिन अनुरोध गरेका थिए । बंगलाचुली गाउँपालिकाकी उपाध्यक्ष यमुना घर्तीले रेडक्रससँगको सहकार्यले गाउँपालिकाको योजनाहरू सम्पन्न गर्न सहयोग गरेको बताइन् । रेडक्रस र स्थानीय सरकारको एउटै उद्देश्य गाउँको विकास र नागरिकमैत्री नै भएकाले सहकार्यले काम गर्न सहज हुने र चाँडै परिवर्तन हुने उनले बताईन् । गाउँपालिकामा परियोजना सञ्चालन गरेर शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा गरेको काम प्रभावकारी भएको भन्दै खुशी ब्यक्त गरिन् । आगामी दिनमा सहकार्य गर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस