• एउटै दृष्टि, भिन्न कोण
  • Search

दशै मनाउन गाउँ फर्केकाहरु जसले घरछेउमै पुग्दा पनि बा–आमा भेट्न पाएनन

रारा २०७८ असोज २६ गते मङ्गलवार

नेपालगञ्जबाट मुगुकाे सदरमुकाम जाँदै गरेको बस मुगुस्थित छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको छ।

छायाँनाथ यातायात प्रा.लिको भे १ ख ३१६७ नम्बरको यात्रुवाहक बस मंगलबार दिउँसो १२ बजेर २२ मिनेटमा दुर्घटना भएको स्थानीयले बताएका छन्।

क्षमताभन्दा बढी (८० जना) यात्रु बोकेको बस अनियन्त्रित हुँदा सडकबाट झण्डै ७ सय मिटर तल खोल्सामा पुगेको घटनास्थल पुगेका स्थानीय बलराम सहानीले बताए ।

‘दुर्घटनास्थलको अवस्था भयाबह छ। मृतकका परिवार र आफन्तहरूको भीड थामिसक्नु छैन। परिवार र आफन्तहरू मृतक सम्झेर रोइकराइँ गरिरहनुभएको छ’, उनले भने।

सहानीका अनुसार मृतकको शव मुगु सदरमुकाम लैजान गाडीमा लोड भइरहेको छ। बस पल्टिएको स्थानमा स्थानीयलाई जान सुरक्षाकर्मीले रोकेका छन्। त्यहाँ सुरक्षा फौज मात्रै उद्दारमा खटेको छ।

‘दुर्घटना भएको बस धुजा–धुजा परेको छ। दुर्घटना भएकाे स्थान हेर्न सक्ने अवस्थामै छैन। प्रायः यात्रुहरू छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६, ७, १०, ११ का स्थानीयहरू छन्’, सहानीले भने, ‘उनीहरू दसैं मनाउन नेपालगञ्जबाट आ–आफ्नो गाउँ फर्केका थिए। तर दुर्भाग्यवस २४ जनाले घटनास्थलमै ज्यान गुमाएका छन्। ती मध्ये ४ जनाले बाटाेमा ज्यान गुमाए।’

घाइतेहरूको उद्दारमा नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसलगायतका संघ–संस्था जुटिरहेका छन्। बस दुर्घटना भएको ठाउँमा यात्रुहरूको सर–सामान भएका कारण कसैलाई जान दिइएको छैन।

बसमा लगभग ४० वर्षमुनिकै यात्रुहरू सवार रहेकाे बताइएकाे छ। उनीहरू मध्ये धेरूै नेपालगञ्जमा पढ्ने विद्याथीहरू छन्।

दुर्घटनामा मृत्यु भएका २८ मध्ये चार जना छायाँनाथ रारा नगरपालिका ७ वडास्थित एउटै गाउँका छन्। पहिचान हुनेहरूमा सन्तोष बिटालु, पदम बुढा, आषिश शाही र भग बम छन्।

सन्तोषले नेपालगञ्जमा इन्जिनियर पढिरहेका थिए। अरू तीनजना पनि विद्यार्थी नै हुन्। दशैं मनाउन गाउँ फर्केका उनीहरू घरछेउमै पुग्दा बस दुर्घटना भएको हो। सन्तोषले बिहान मात्रै बा–आमासँग फोनमा कुराकानी गरेका थिए। तर, घर नजिकै पुगेका उनले बा–आमा भने भेट्न पाएनन्।

दुर्घटनास्थालबाट सन्तोषको घर पुग्न धेरै समय नै लाग्दैन। बस बिसाैनीसम्मकाे दुरी कम्तिमा ७ सय मिटर रहेको स्थानीय सहानीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस