• एउटै दृष्टि, भिन्न कोण
  • Search

राष्ट्र बैंकले फिर्ता गरायो बढेको ब्याज, नयाँ ब्याज बुधबार निर्धारण हुने

काठमाडौ २०७८ कार्तिक २ गते मङ्गलवार

बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १ गतेबाट लागू गरेको निक्षेपको ब्याज दर फिर्ता भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार राति ९ बजे तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको ब्याज दर फिर्ता गराएको हो।

आइतबार हिमालयन, एनआइसी एसिया र लक्ष्मी बैंकले ब्याज दर ११ प्रतिशतमाथि प्रकाशित गरेका थिए। यसबाहेक अन्य ९ वटा बैंकले ब्याज १० प्रतिशतमाथि पुर्याएका थिए। ब्याज बढेका कारण सेयर बजारमा लगातार पहिरो जान थालेको छ। निजी क्षेत्रका संगठनहरुले पनि ब्याज बृद्धिप्रति चिन्ता ब्यक्त गर्न थालेका छन्।

अबदेखि जुनसुकै निक्षपको ब्याज निर्धारण गर्दा अघिल्लो महिनाको भन्दा बढिमा १० प्रतिशतले मात्र परिवर्तन गर्न पाइने छ। यसको मतलब कुनै बैंकको असोजमा १० प्रतिशत छ भने उसले यसको १० प्रतिशत हुन आउने एक प्रतिशत बिन्दुले ब्याज परिवर्तन गर्न सक्छ। अर्थात घटाएर ९ प्रतिशत वा बढाएर ११ प्रतिशत मात्र निर्धारण गर्न सक्छ। एकै पटक ८ वा १२ प्रतिशत पुर्याउन सक्दैनन्।

संस्थागत मुद्दति निक्षेपकर्ताले पाउने ब्याज अब सर्वसाधारणले पाउनेभन्दा कम हुने भएको छ। यो ब्यवस्था बुधबारबाटै लागू हुने छ। आइतबार र सोमबार बढेको ब्याज पाएकाहरुका हकमा के हुन्छ भन्ने बिषयमा निर्देशन मौन छ। संस्थागतको ब्याज ब्यक्तिगतको भन्दा एक प्रतिशत बिन्दु कम निर्धारण गर्नु पर्ने भएको छ। यो ब्यवस्था बोलकबोलमा पनि लागु हुने छ।

अब बैंकहरुले कात्तिकको ब्याज बुधबार निर्धारण गर्नु पर्ने हुन्छ। नयाँ ब्याज असोजमा तय भएको ब्याजका आधारमा निर्धारण हुने छ।

प्रतिक्रिया दिनुहोस