• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पा जिल्लाबाट उत्कृष्ट कृषकको रुपमा मनिमारेका भीमबहादुर सम्मानित

उद्योग वाणीज्य संघ रोल्पाले गर्यो सम्मान
रोल्पा २०७८ फाल्गुन २८ गते शनिवार

रोल्पा गंगादेव गाउपालिका ३ स्मार्ट कृषि गाउ मनिमारेका कृषक भिम बहादुर खत्री जिल्लाकै उत्कृष्ट किसानको रुपमा सम्मानित भएका छन । रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको १८ औ साधारण सभा, ८ औँ अधिवशेन उद्घाटन, स्मारिका विमोचन तथा पदभार ग्रहण कार्यक्रममा उनीलाई सम्मानित गरिएको हो ।

सम्मान पत्र संगै भिम बहादुर

३० वर्ष अघि थालेको व्यवसायिक स्याउ खेतीले अहिले कृषि क्षेत्र अन्तर्गत जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बनाएको हो । पहिला अन्नबाली लगाउने गरेका केसी फलफुल बाट राम्रो र दोब्बर कमाइ हुने देखेपछि व्यावसायिक स्याउ खेतीमा लागेका थिए । उनी लभि पर्यटन स्थल व्यवसायिक स्याउ खेती फर्मका संचालक समेत हुन । २०४५ सालबाट व्यवसायिक स्याउ खेती गरेपनि उनले २०७३ मा आफ्नो कृषि फर्मको दर्ता गरेका थिए । उनले उक्त फर्म बाट स्याउ बिक्रि गर्नुको साथै कलमी बिरुवा समेत बिक्रि गर्दै आएका छन ।

जिल्लाकै उत्कृष्ट किसानको रुपमा सम्मानित हुदा खुसी भएको उनी बताउछन । ३० वर्ष सम्म स्याउ खेती गरियो ३० वर्षको मेहनतीले आज सम्मानित भएर एकदमै खुसी छु उनले भने । मैले गरेको कामको सबैले प्रचारप्रसार गरिदिए अनि मात्र यो(सम्मान) सम्भब भएको हो । जति काम गरेपनि प्रचारप्रसार नगर्ने हो भने केहि हुने रहेनछ उनि भन्छन । उनले प्रचारप्रसार गर्नमा पत्रकार कुलदिप न्यौपाने राम्रो सहयोग गरेको बताउछन साथै उनले न्यौपानेलाई धन्यवाद समेत दिए ।

२०४२ सालमा एउटा परियोजनाका संयोजक बनेर खत्रीको गाउँ (तत्कालीन जिनावाङ गाविस) आएका टीकाकुमार प्रधानले स्थानीयलाई स्याउ खेती गर्न हौस्याएका थिए। उनी र कर्मचारी ओपेन्द्रकुमार कर्णको पहलमा भारतको मुसाभराबाट कृष्ण कुमार जिन्दालले नयाँ जातका स्याउका बिरुवा रोल्पा पुर्‍याइदिए। त्यसपछि जीविका चल्ने गरी स्याउ खेती थालेको भीमबहादुरले बताउने गरेका छन। अहिले उनि सँग साना ठुला गरि २००० भन्दा बढी स्याउका बोटहरु रहेका छन ।

रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्दको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्ब केन्द्रय अध्यक्ष चण्डिराज ढकालको विशिष्ट आतिथ्यता रहेको थियो ।

यस्तो छ भिम बहादुरको जीवन संघर्ष उनकै शैलीमा

तत्कालिन बिकट क्षेत्रको रुपमा रहेको जनयुद्वको उदगम स्थल मानिएको रोल्पा जिल्ला साबिक जिनाबाङ गा.वि..स. हालको गंगादेव गाउँपलिका वडा नं ३ मा बुबा झनक बहादुर खत्री र आमा हस्ती खत्रीको कोखबाट वि.स. २०३१ साल असार १५ गतेका दिन जन्म भएको थियो । मेरो बुबाको जीवन दुखदायी थियो । आर्थिक अबस्था कम्जोर भएकै कारण बच्पनदेखी नै दुखि जीवन पार गर्दै आएको थिए ।

परिवारको आर्थिक अवस्था कम्जोर भएकै कारण मलाई धेरै दुख गरि हुर्काउनु भयको थियो । आमाको कोखबाट तिन भाई र दुई दिदीबहिनीको जन्म भयको थियो । आफ्नो परिवारलाई सुखमा हुर्काउन जुनसुकै आमाबुबालाई रहर लाग्छ र मेरो बुबालाई पनि रहर लागेर होला धन कमाउने आशा बोकेर भारत जानुभयो र उहाले त्यहाँ गएर धेरै दु:ख गरि केहि आम्दानी गरेर घर फर्किनुभयो । बुबालाई बुढेसकाल लागेर अशक्त भई काम गर्न नसक्ने अबस्था भएपछी जेठो दाई शेर बहादुर खत्रीको काधमा जिम्मेवारी थपियो ।

स्याउ बारीमा भिम बहादुर फोटो : राजेश खत्री

दाईले पनि घरपरिवार चलाउनको लागि ज्याला मजदुरी गरि जसो तसो परिवार चलाउनु भएको थियो । त्यसपछि माइलो दाईले पनि VFCA कार्यक्रम आएपछी २०० देखि ३०० सम्म स्याउकाबोट लगाई स्याउ खेति मा नै केहि गर्ने आशा राख्नुभयो । त्यसपछि साझ बिहान खाना खान पुग्ने अवस्थामा आएको थियौ । मैले मेरो पढाईलाई जसोतसो निरन्तरता दिएकै थिए । त्यसपछि मैले टेस्ट पास गरेपछि SLC दिए त्यसमा अनुर्तिना भए त्यसपछि आंशिक परिक्षा दिन जिल्ला सदरमुकाम जानु पर्ने थियो फलस्वरुप आर्थिक अबस्था कम्जोर भएकै कारण आंशिक परिक्षा नदिने निर्णय गरे ।

यसै सिलसिलामा घरपरिवारले विवाह गरिदिने निर्णय गरेपछि विवाह गरियो । केहि समय त बिहेपछि सबै दाईहरु सँगै बसियो त्यसपछि सबैदाई छुट्टिएर बस्ने निर्णय गरे त्यसपछि सबैले आ-आफ्नो सम्पति लिएर छुट्टिएपछी मलाई आफ्नो परिवार चलाउन धौ धौ परेपछि मैले भारत जाने निर्णय गरे, घरमा श्रीमती र आमा हुनुहुन्थ्यो । म भारत गएपछी दुर्घटनामा परे र त्यहाँ दुर्घटनाबाट बच्न सफल भए र घर आए । त्यसपछि मलाई नेपालमै केहि गर्ने आशा पलायो र गाउमै आएर मैले २०० बोट स्याउ लगाए र स्याउ खेतीलाई ब्यबसायिक बनाए ।

२०५२/५३ सालको जनआन्दोलन को प्रभावदेशभर साथसाथ मेरो गाउँमा पनि परेको थियो । मेरो बसोबास गर्ने एउटा सानो घर थियो । छोराछोरी पढ्न स्कुल गएका थिए त्यसबेला माओवादी र सेनाबीच युद्ध हुदा घर लगायत सम्पूर्ण सम्पति जलेर नस्ट भएको थियो । द्वन्द्व पिडित भनेर राहत आयो रे भन्ने हल्ला सुनेको थिए तर मैले भने त्यो राहत पाउन सकिन फलस्वरुप मलाई राहत भन्ने शब्द सुन्दा आशा लाग्न छोडेको थियो । मैले स्याउ खेतीलाई व्यावसायिक बनाएर खेति गर्न सुरु गरे जस पस्चात परिणाम स्वरुप जिल्ला कृषि विकास कार्यलयबाट २०५६/५७ मा हिउदे फलफुल बगैचा प्रतियोगीतामा प्रथम हुन सफल भए ।

त्यसपछि माइला दाई बसाईसराई गरि दाङ जिल्ला जानुभयो । उहाले आफ्नो सम्पति यहि यथाबत राखेर जानुभयो पहिले पहिले त माइला दाइको स्याउ,आलु तथा अन्य खेतिहरुको हेरफेर मैले गरिदिने गरेको थिए । केहि समयपछि दाईले यहाँको सम्पति बेच्ने निर्णय गरेपछि म सँग नगत रुपैया त थिएन तर मेरो भागमा परेको दाङ को जग्गा सँग साट्ने कुरा पश्चात अझ केहि पैसा थपेर दाइको बगैचा समेत किनियो साथै त्यतिबेला बगैचा किन्दा मलाई ५० लाख बराबरको मुल्य परेको थियो । त्यसपछि मैले यहि स्याउ खेतीबाट नै केहि गर्ने निर्णय गरे र स्याउ खेतीलाई मुख्य आधार बनाई अघि बढे त्यसपछि मैले मेरो ३ वटा बगैचामा साना ठुला गरि करिब १४००-१५०० बिरुवा लगाई स्याहार-सुसार गर्दै आए ।

त्यसपछि २०६९/०३/०६ गते समशितोष्ण तरकारी तरकारी बिउ उत्पादन केन्द्र चापा रुकुममा गएर तरकारी बालीहरुको बिउ उत्पादन प्रविधिको बारेमा तालिम लिए । २०७३/०२/१३ गते मैले (लभि पर्यटन व्यावसायिक स्याउ खेति फर्म ) नामको स्याउ फर्म दर्ता गरे । त्यसपछि मैले फर्ममा मिहिनेत खर्च गरे अनुसार आम्दानी हुन थाल्यो । र प्रदेश सरकारको आ.व. २०७५/७६ को स्मार्ट कृषि कार्यक्रम नीति अनुरुप यस ठाउलाई स्मार्ट कृषि गाउँ छनौट पश्चात मलाई स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन समितिबाट एक वटा पक्कि पोखरी ५०००० लि.), एक वटा चार्जवाला पावर स्प्रे, कम्पोस्ट मल बनाउन खाडल एक वटा, नमुना बगैचा १, झोल मल बनाउनको लागि ड्रम र रायोको बिउ सुकाउने त्रिपाल प्रदान गरे पश्चात यस कार्यक्रमबाट मलाई कृषिमा अझ उर्जा थपिएको छ ।
त्यसैले कृषिमा नै केहि गर्ने अपेक्षा रहेको छ साथै राष्ट्रिय फलफुल विकास केन्द्र कीर्तिपुर काठमाडौंमा २०७६/१०/२७ देखि २०७६/११/०१ गतेसम्म हिउदे फलफुल (स्याउ, ओखर, कागजी, बदाम) खेति विषयमा तालिम लिने अबसर मिल्यो । अहिले स्याउ फर्मबाट उत्पादन पनि राम्रो हुदै गएको छ गत वर्ष स्याउ खेतीबाट राम्रो आम्दानी होस् भनेरै ५-६ लाख खर्च गरे र त्यसले दिएको उत्पादन बाट मलाई सहित मेरो परिवारलाई धेरै खुसि बनायो झन्डै १५-१६ लाखको आम्दानी भएको थियो । परिवारले दुख गरे अनुसारको फल प्राप्त गर्दै गएपछि अगाडिको दिनहरुको दुख अहिले भुल्दै गएको छु । यहि आम्दानी बाट घर खर्च चलाउने, छोरालाई पढाउने र बचत रकमले दाङमा केहि जमिन जोड्न सफल भएको छु ।

अहिले बिभिन्न कार्यक्रमले सहभागी गराएपछी थप सहज भयको छ । अहिले घरपरिवार पनि सहज तरिकाले चल्दै आएको छ र मलाई कृषि पेशामा थप हौसला, उर्जा प्रदान हुदै आएको छ । यसरि नै मेरो जिबन बित्दै आएको छ र अझै राज्यबाट विभिन्न किसिमका सहयोग मिल्ने आशा गरेको छु। मलाई मेरो दुख र मेहनतले जिल्लाकै उत्कृष्ट स्याउ किसानको रुपमा सम्मानित गर्नु भएकोमा रोल्पा उद्योग वाणिज्य संघलाई धन्यवाद ब्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस