• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पा यात्रा एक अद्भुत अनुभुति!

काठमाडौ २०८० जेष्ठ ७ गते आइतवार

स्थानिय साहित्यिक कार्यक्रममा समेत भौतिक रुपमा न्युन सरिक हुने मेरा लागि राजधानी बाहिरको साहित्यिक यात्रा त झन कोरा कल्पना जस्तो हुनेगर्छ ।

अँ, यसपटक भनेँ मलाई समय र परिवारले साथ दियो । र सपना लाई साकार रुप दिन गतिलो बहाना बन्यो रोल्पा श्रृजना महोत्सवको राष्ट्रिय कविता प्रतियोगिताको प्रतिस्पर्धामा छनौट हुनु ।

बीस घन्टे बसयात्रा मेरो जीवनको पहिलो सबैभन्दा लामो यात्रा थियो । सामान्यतः लामो बसयात्रा पट्यारलाग्दो हुनेगर्छ तर यसपटकको बसयात्रा कष्टकर हुन पाएन किनकि बसभरि देशमा कहलिएका कलाकार, गजलकार र कविहरुको जमात जो थियो- यस्तो लाग्दैथियो सर्वनाम थियटरको महफिल आज बसयात्रामा छ । आँखा झिमिक्क नगरी बिहान भएथ्यो ।

कपिलवस्तु देखि रोल्पासम्मका सबै क्षेत्र, स्थान र परिवेश नौला थिए मेरा लागि । प्युठानका अग्ला अग्ला पहाडका काख छिचोल्दै रोल्पाका भीमकाय पठार र गराहरुका छाती चिर्दै बस उकालो लाग्यो । सम्भवतः यति अग्लो भुभागमा पहिलोपटक उक्लँदै थिएँ, तल तिर हेर्दा आफू आकासको नजिकै पुगेको महसुस भइरहेथ्यो । लालीगुराँस, टिमुर, ओखर र काफलका बोटहरुले भरिभराउ जङ्गल चिर्दै हिँडेको राजमार्गमा बस चिप्लिरहेको थियो । टाकुरामा पुगेर फेरि खोलाको किनारमा झर्न पर्दो रहेछ लिबाङ बजार !
लिवाङ नजारको मध्यभागमा अवस्थित टुडिखेलमा गएर हाम्रो बस रोकियो र यात्राले बिट मार्यो ।

रोल्पा श्रृजना महोत्सवका पदाधिकारी, आयोजक र अन्य सरोकारवाला क्षेत्रका ब्यक्त्तित्वको स्वागतले मन प्रफुल्ल भएथ्यो ।

एउटा स्थानिय क्षेत्रले साहित्य, कला र संस्कृतिको उत्थानका लागि कतिसम्म लगानि र कतिसम्म माया गर्न सक्दोरहेछ भन्ने उदाहरण अन्य स्थानीय सरकारले रोल्पा र रोल्पाली जनताबाट सिकोस् ।

राजधानीबाट दुरीका हिसाबले टाढा हुनु मात्र विकटता होइन न भौगोलिक कठिनता नै हो भन्ने कुरा रोल्पाले सिकायो । युद्धको चपेटाले थलिएर उठेको रोल्पासँग सपना देख्ने सामार्थ्य मात्र होइन सम्भावना, प्रचुरता र तत्परता सबै रहेछ बस् उचित वातावरणको खाँचो छ । रोल्पाको स्थानिय सरकार र प्रतिनिधिहरु, रोल्पाली साहित्य सर्जकहरु, पर्यटन र पर्यटन व्यवसायसँग सम्बन्धित सरोकारवाला ब्यक्तिहरुको यो हातेमालो, सहकार्य र तत्परता अनिसमग्र स्थानिय बिकासलाई कसरी साहित्य, संस्कृति र कला र पर्यावरणसँग जोडिनुपर्छ भन्ने कुरालाई आत्मसात् गर्नुले सम्पदा, संस्कृति र शक्तिको धनी रोल्पालाई यसको गौरवशाली इतिहास जोगाउन पक्कै सहयोग गर्नेछ भन्ने विश्वास छ ।
साहित्य उत्सवमा राखिएका सबै सेसन उत्तिकै सान्दर्भिक लाग्यो । स्थानिय कवि, गजलकार, साहित्यकार हरुको सक्रिय सहभागुताले रोल्पाको साहित्यिक गरिमालाई उँचो देखायो ।

युद्ध सङ्ग्रहालयको रुपमा स्थापना गरिएको सातदोबाटोको भ्यु टावरको काखमा आयोजना गरिएको दोश्रो दिनको सेसनले रोल्पासँग सरोकार राख्ने राजनीति देखि साहित्यसम्मका सबै कुराको चिरफार र बिमर्श गर्न सफल भयो जसले गर्दा रोल्पाले भोगिरहेको वर्तमानमा र खाका कोर्न खोजेको भविष्यको रोल्पाको मार्गचित्र थिए ।


अन्तमा यस महोत्सवका आयोजक टीम र काठमाडौलाई रोल्पासम्म जोड्ने कर्मठशील कवि बाबु त्रिपाठी, प्रज्वल अधिकारीको टिम एवम् स्थानिय स्तरमा आतिथ्यतामा हरक्षण खटिनुहुने दीप दर्पण जि, नवीन लोचन मगरज्यु, मेयरज्युहरु एवम् उहाँको सम्पूर्ण टिम प्रति बिशेष आभार !


२०८० जेठ ७

प्रतिक्रिया दिनुहोस