भक्तपुरको सानोठिमी क्याम्पसमा स्ववियु निर्वाचनका लागि सत्तारुढ नेपाली कांग्रेसनिकट नेविसंघ र प्रतिपक्षी नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले तालमेल गरेका छन्। आगामी चैत ५ गते हुने चुनावका लागि यी दुई संगठनले साझा उम्मेदवारी दर्ता गराएका हुन।

देशको राष्ट्रिय राजनीतिमा एमाले, काङ्ग्रेस सत्तामा छन भने माओवादी(केन्द्र) प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ। तर, सानोठिमी क्याम्पसमा भने राजनीतिक समीकरण फरक बनेको छ। गठबन्धन अनुसार अध्यक्ष पदका लागि अखिल (क्रान्तिकारी) का नरेन्द्रसिंह ठगुन्ना र सचिव पदका लागि नेविसंघका दिक्पाल कार्की उम्मेदवार बनेका छन्। त्यस्तै, कोषाध्यक्ष पदमा पनि क्रान्तिकारीकै कुमार मानन्धर (कविर) उम्मेदवार बनेका छन्।
प्रत्यक्ष निर्वाचित हुने पदतर्फ ४ सदस्य क्रान्तिकारी र ३ सदस्य नेविसंघले लिने सहमति भएको छ। प्रत्यक्ष उम्मेदवारहरूमा लंका वली, फुर्वा छिरिङ लामा, हस्तबहादुर खड्का, सुजिता कार्की, झरना कार्की, कुशल अधिकारी, र सुवास पौडेल रहेका छन्। समानुपातिक पद तर्फ नेविसंघले उपाध्यक्ष लिनेछ भने क्रान्तिकारीले सहसचिव लिने सहमति भएको छ।
राजनीतिक रूपमा कांग्रेस र माओवादी केन्द्रबीच राष्ट्रिय स्तरमा सम्बन्ध सहज छैन। तर, क्याम्पस तहमा भने निरन्तर गठबन्धन देखिनु स्ववियु निर्वाचनमा मात्र हुने रणनीतिक चलाखीको रूपमा लिएको छ । ०६५ सम्म सानोठिमी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको वर्चश्व थियो । तर २०६५ पछि अखिल (क्रान्तिकारी) ले लगातार ३ पटक सभापति जित्दै ह्याट्रिक गरिसकेको छ भने ने.वि.संघ पनि यस पटकको निर्वाचन जितेर ह्याट्रिक गर्ने दाउमा छ ।
२०७३ र २०७९ सालमा ने.वि.संघबाट क्रमस राम बहादुर केसी र भुदिप दाहाल सचिवमा निर्वाचित बनेका थिए भने २०८१ सालमा मा पनि नेविसंघ बाट सचिव पदका उम्मेद्वार दिक्पाल कार्कीलाई विजयी बनाएर ह्याट्रक गर्ने ने.वि.संघ रहेको केन्द्रिय सदस्य तथा सानोठिमी क्याम्पस ईकाइ सभापति याङ्जोर कार्कीले बताए ।