• एउटै दृष्टि, भिन्न कोण
  • Search

“कार्यकर्ताको प्रश्न: सभापति ज्यू, काङ्ग्रेसले सरकार छोड्ने कि हामिले काङ्ग्रेस ?”

दाङ २०८२ भाद्र २३ गते सोमवार

आज देशैभर भएको जेनजी (Gen-Z) पुस्ताको आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी १९ जनाको ज्यान गएपछि नेपाली कांग्रेसभित्र असन्तोष खुलेर बाहिर आएको छ। कांग्रेसका विभिन्न तहका कार्यकर्ताले नेतृत्वप्रति गम्भीर प्रश्न उठाउँदै सरकार छाड्ने कि पार्टी नै छाड्ने भन्ने विवाद सार्वजनिक रूपमा राखेका छन्।

“सभापति ज्यू, काँग्रेसले सरकार छोड्ने कि हामिले काँग्रेस ?” भन्ने कार्यकर्ताको प्रश्नले पार्टीभित्रको आन्तरिक असन्तुष्टि झनै स्पष्ट भएको छ। पार्टी कार्यकर्ताले जनताको पक्षमा उभिनुपर्ने बेलामा सत्तामा आसक्त भएको आरोप लगाउँदै तत्काल सरकार छाड्न दबाब दिएका छन्।

जेनजी आन्दोलनलाई शान्तिपूर्ण तरिकाले सम्बोधन गर्नुको साटो शक्तिप्रयोग गरेर निर्दोष युवामाथि गोली चलाइनु लोकतान्त्रिक मूल्यविपरीत भएको कार्यकर्ताहरूको आरोप छ। उनीहरूका अनुसार, आन्दोलनकारी १९ जनाको ज्यान गएको घटनापछि पनि पार्टी नेतृत्व मौन बस्नु जनताको भावनाविपरीतको कदम हो।

नेपाली कांग्रेसभित्रै यस घटनाले ठूलो बहस निम्त्याएको छ। कतिपय नेताहरूले सरकारमै रहँदा नै आन्दोलनकारीको पक्षमा ठोस कदम चाल्नुपर्ने धारणा राखेका छन् भने अर्को समूहले तत्काल सरकार छाडेर सडकमै जनता संगै उभिनुपर्ने बताइरहेका छन्।

विशेषगरी युवापुस्ता र तल्लो तहका कार्यकर्तामाझ बढ्दो असन्तुष्टिले पार्टी नेतृत्वमाथि दबाब बढाएको छ। अब पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वले कस्तो कदम चाल्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया दिनुहोस