रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले गाउँपालिकामा हुने काम–कारबाहीहरु स्थानीय तहको नियम र कानून बमोजिम नै हुने गरेको बताएका छन्। शनिबार रोल्पाको होलेरीमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष बुढाले यस्तो जानकारी दिएका हुन्।
रुन्टीगढी गाउँपालिकाले गरेका नमूना कामहरुबाट रुन्टीबासी खुसी भएको उनले बताए। गाउँपालिकामा समृद्धिको खाका र विकासमा दिगो व्यवस्थापन देखेर कोही पनि नआति बुढाको आग्रह छ। एउटा गाउँ कार्यपालिका बैठक बाहेक अन्य सबै गाउँ कार्यपालिका बैठकहरु र गाउँसभाहरु सहमति मै सम्पन्न भएको बताएका छन्। सबै कुराहरु मिलेर नै सहमति भएको अध्यक्ष बुढाको दाबी छ।
प्रमाण बिना अनावश्यक रुपमा गाउँपालिका र जनप्रतिनिधिहरुको चरित्र गर्ने काम बन्द गर्न परिचालित समूहलाई उनले अनुरोध गरेका छन्।

“कुनै पनि ठाउँमा गल्ती गरेका प्रमाणहरु छन् भने आउनुहोस्। छलफल गरौं। हामीहरु कारबाही भोग्न तयार छौं। तर, फरक विचार राख्ने साथीहरु समूह नै बनाएर राम्रो काम गर्दापनि कुप्रचार नगर्नुहोस्। राम्रो कामलाई राम्रो भयो भन्ने बानीको विकास गरौं”– उनले भने।
सामाजिक संजालमार्फत गाउँपालिका विरुद्ध आउने कुप्रचारमा कुनैपनि सत्य नभएको उनले बताए। गाउँपालिकामा कुनै पक्ष वा विपक्ष भन्ने नै नभएको बुढाको दाबी छ। गाउँ–गाउँमा जनताबाट उठेका गुनासो वा टिप्पणीहरु सुनेपछि गम्भीरता साथ सम्बोधन गर्ने गरेको बताएका छन्। आफ्नो र गाउँपालिका विरुद्ध रुन्टीगढीका जनतालाई भ्रमित गर्ने काम बन्द गर्न कांग्रेस पार्टीका स्थानीय कार्यक्रताहरुलाई आग्रह गरेका छन्।
“स्थानीय तहको निर्वाचन ताका जनतासँग जोडिने विषयवस्तु उठाएका थियौं। जो– हाम्रो घोषणा पत्रमार्फत प्रष्टसँग जनतामाझ पुगेको थियो। जुन रुन्टीगढीको पहिलो गाउँसभाबाट यहाँको कृषि, पर्यटन र पूर्वाधारबाट गाउँपालिकाको समृद्धि लिन सकिन्छ भन्ने ठोस एउटा नारा बनायौं। त्यो नारालाई टेकेर गरेका बिभिन्न जनमैत्री कामहरुलाई देखेपछि केहि राजनीतिक पार्टीका मान्छेहरु आतिएका छन्”– अध्यक्ष बुढाले भने।