• एउटै दृष्टि, भिन्न कोण
  • Search

पूर्ण सरसफाइ गुरुयोजना २०७७ बनाउने तयारी गरिदै

काठमाडौ २०७७ असोज ७ गते बुधवार

दिगो विकास लक्ष्य हासिल हुनेगरी पूर्ण सरसफाइका क्रियाकलाप सञ्चालन गर्नकोलागि पूर्ण सरसफाइ गुरुयोजना २०७७ बन्ने भएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको अध्यक्षतामा बसेको बैठकले सरसफाइ गुरुयोजना २०६८ परिमार्जन/पुनर्लेखन गरी दिगो विकास लक्ष्य सहित पूर्ण सरसफाइका क्रियाकलाप सञ्चालन गर्न पूर्ण सरसफाइ गुरुयोजना २०७७ तयार गर्ने निर्णय गरिएको हो ।

यसका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागमा सचिवालय स्थापना गर्ने र सचिवालय एवं विभाग मार्फत आवश्यक पर्ने सचिवालय टिम, परामर्शदाता टिम गठन तथा छनौट गरी परिचालन गर्ने निर्णय गरिएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रभात श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै साबुन पानीले हात धुने परम्परागत प्रक्रिया र शैलीलाई कोभिड १९ संक्रमणको सन्दर्भमा परिमार्जन गरी सबै संवेदनशील घडीमा साबुन पानीले हात धुने सन्देशहरुको निर्माण, प्रचारप्रसार र अभ्यास गराउने कार्यको आवश्यक तयारी वास क्लष्टर, कार्यदल, सचिवालय लगायतका सरोकारवालाहरुद्वारा तयार गरी तीनै तहका सरकार, मातहतका निकाय, खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिहरु, सामुदायिक परिचाल र स्वयंसेवकसम्म जानकारी पुर्‍याउने, सार्वजनिक शौचालय डिजाइन तथा व्यवस्थापन निर्देशिकाको प्रारम्भिक खाका तयार भएपछि छलफल र सुझाव संकलनका लागि सरोकारवालाहरुलाई उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

पूर्ण सरसफाइ गुरुयोजना निर्माण गर्ने उद्देश्यले यस अघि नै सातै वटा प्रदेशमा पूर्ण सरसफाइ सम्बन्धी कार्यशाला संचालन गरी राष्ट्रिय स्तरमा नीति निर्मातासँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण उक्त कार्यशाला अहिलेसम्म पनि हुन सकेको छैन ।

#स्रोत: वास खबर

प्रतिक्रिया दिनुहोस