आज (सोमबार) दिउसो १२ बजे बस्ने प्रदेश नं. ५ को संसदले स्थायी राजधानी टुंगो लगाउने छ । यस अघिको बैठकमा प्रदेशको स्थायी राजधानीकालागि भालुवाङ क्षेत्रमा प्रस्ताब गरिएको थियो ।
प्रदेशका १२ वटै जिल्लाको पहुँचमा भालुवाङ नै पुग्ने भन्दै त्यसलाई प्रस्ताब गरिएको छ । तर, बुटवल तथा आसपासका केही जिल्लाका सांसदहरुले आपत्ति जनाएका छन् । संसदमा ८४ सांसद छन् । दुईतिहाई बहुमतले पारीत गरेपछि मात्रै राजधानीको टुंगो लाग्ने छ ।
दुई तिहाई बहुमत पुर्याउन ५८ सांसद चाहिन्छ । संसदमा सत्तारुढ नेकपाका मात्रै ६२ सांसद छन् । नेकपाले भालुवाङको पक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको छ । तर, शनिबार बसेको नेकपा प्रदेश नं. ५ संसदीय दलको बैठकमा नेकपाका १४ सांसदले असन्तुष्टि जनाएका थिए । अब ति १४ सांसदले पार्टीको निर्णय मान्छन वा मान्दैन त्यो मतदान पश्चात थाहा हुनेछ ।
कांग्रेसले भने दाङको पक्षमा मतदान नगर्ने र आज संसद नै घेराउ गर्ने चेतावनी दिएपनि कांग्रेसका ६ सांसदले भने दाङको पक्षमा मतदान गर्ने प्रतिक्रिया दिएका छन् । संसदमा कांग्रेसका १९ सांसद छन् । संसदमा संघीय समाजवादी फोरम नेपालका ५, राजपा नेपालका एक र राजमोका एकजना सांसद रहेका छन् ।
फोरमका दुई सांसद दाङको पक्षमा छन्, भने राजमोका एक सांसद पनि प्यूठान निवासी भएकाले दाङकै पक्षमा आउने अनुमान गरिएको छ ।