अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल,सम्पर्क कार्यालय नेपालगन्जमा दाङका दश वटै पालिकामा भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ । वितेको आर्थिक वर्ष २०७७-७८ मा जिल्लाका दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सात वटा गाउँपालिका गरी दश वटै पालिकामा भ्रष्टाचार भएको बारे उजुरी दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।
नेपालगन्ज कार्यालयमा सवैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकाका दश वटा उजुरी दर्ता भएका छन् । यस्तैगरी राजपुर गाउँपालिकाका ८ वटा, घोराही उपमहानगरपालिकाका ६ , शान्तिनगर गाउँपालिकाका ६ , दंगीशरण गाउँपालिकाका ५ , लमही नगरपालिकाका ३ , बबई, गढवा, राप्ती र बंगलाचुली गाउँपालिकाका एक-एक गरी चार वटा भ्रष्टाचार सम्बन्धीको उजुरी अख्तियारको कार्यालय नेपालगन्जमा दर्ता भएको सुचना अधिकारी श्रीधर टण्डनले जानकारी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल,सम्पर्क कार्यालय नेपालगन्जले लुम्बिनी प्रदेशका चार जिल्ला दाङ,बाँके,बर्दिया र रोल्पा हेर्दै आएको छ ।