लुम्बिनी प्रदेश सरकारले रोल्पाका विभिन्न आयोजना तथा कार्यक्रममा डेढ अर्ब बराबरको बजेट खर्च गर्दैछ ।
सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम मार्फत यी आयोजनाका लागि करिब डेढ अर्ब बराबरको रकम बिनियोजन गरेको हो । जिल्लाको समग्र विकासलाई प्राथमिकतामा राख्दै विभिन्न आयोजना तथा कार्यक्रममा बजेट खर्च गर्न लागिएको मुख्यमन्त्री कुलप्रसाद के.सीले बताउनुभयो ।
जनताको आवश्यकता र मागका आयोजना सबभन्दा धेरै समेटिएको उहाँको भनाइ छ । जिल्लाका केही आयोजना दीर्घकालीन महत्वका दृष्टिले पनि अगाडि बढाइएको छ । मुख्यमन्त्री के.सीका अनुसार तय भएका आयोजना तथा बजेटले जिल्लाको विकासमा थप टेवा पुग्नुका साथै स्वरोजगार समेत सिर्जना हुनेछ ।
शिक्षा,स्वास्थ्य,खानेपानी,सिंचाइ,सडक पूर्वाधार लगायतमा बिनियोजित बजेट खर्च गर्न सके नागरिकको जीवनस्तर माथि उठ्ने प्रदेश सरकारको अपेक्षा छ ।