रोल्पाको माडी गाउँपालिकाले सामुदायिक बिद्यालयलाई प्रविधि युक्त बनाउन शिक्षकहरुका लागि ४ दिने तालिमको आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न गरेको छ ।
गाउँपालिकाका ३३ वटा सामुदायिक विद्यालय र ५ वटा बाल बिकास केन्द्रका कम्प्युटर सम्बन्धि जानकार शिक्षकहरूलाई सूचना तथा संचार प्रविधि सम्बन्धि तालिम प्रदान गरिएको हो । नयाँ प्रविधिसँगै नवीन अध्ययन र खोजको लागि प्रविधिसँग शिक्षकलाइ जोड्दै विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने उद्देश्यका साथ माडी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले उक्त तालिमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले शिक्षा क्षेत्रमा निकै ठुलो बजेट खर्च भएपनि उपलब्धि भने सन्तोषजनक नदेखिएको हुँदा दियो ज्यान लाएर उपलब्धि निकाल्न निर्देशन दिनुभयो । गत चैत २५ गते उद्घाटन भएको तालिममा गाउँपालिकामा रहेका २ वटा संस्थागत बिद्यालयका शिक्षकलाई पनि आमन्त्रण गरिएको थियो ।