सम्मानिय प्रधानमन्त्री तथा नेघपाली कांग्रेसका श्रद्धेय सभापति शेरबहादुर देउवा ज्यु,
सर्व प्रथम त प्रतिनिधि सभा-२०७९ सालको यस चुनावमा अत्यधिक मत सहित सातौंपटक सम्मको हजुरको अटल र गौरवमय जितको लागि हार्दिक बधाई तथा शुभकामना !
तपाईको यो राजनैनिक लामो यात्रा र कालखण्डमा नेपाल र नेपालीले अत्यन्तै ठुलो अनुभव र अनुभुतीहरु सगै परिवर्तनको महसुस गर्ने अवसर जुर्यो। एउटै मानिस देशको ५ औं पटक सम्मको कार्यकारी प्रधानमन्त्री सायदै जुर्नेमा हजुर एक हो। देशको सबैभन्दा ठूलो शाशनको बागडोर समालिरहदा धेरै कुराहरु हजुरबाट देश र जनताको लागि भए भने केही कमीकमजोरी हुनु पनि ठूलो कुरा हैन जस्तो लाग्छ। तर पनि, हजुरको अदम्य राजनैतिक यात्रा साच्चै अनुकरणीय छ। एकातिर देश त अर्कोतिर देशकै सबैभन्दा ठूलो इतिहास र विरासत बोकेको नेपाली कांग्रेसको पार्टी सभापति भएर देशलाई हाक्ने सामर्थ्यले हजुरको क्षमता र दक्षताको जतिसुकै प्रशंसा गर्दा नि कमी नै हुन्छ। तरपनि, हजुरले धेरै काम र कुरा गरिसक्नु भयो। सायदै अब गर्न बाकी धेरै केहि छैन जस्तो लाग्छ।
समय अत्यन्तै परिवर्तनशिल हुदो रहेछ। अहिले जनताहरु फरक टेष्ट र नयाँ नेतृत्वको रस्वाद गर्न चाहन्छन्। राजनैतिक दलहरुको सत्तालुप्ती, नीति र सिद्धान्त विचलित प्रचलनले जनताहरुमा निरासता, राजनितिज्ञ र राजनैतिक दलहरु प्रति द्वेष र अविश्वासको प्रार्दुभाव पैदा भएकोछ। यसर्थ पनि, समयानुकूल हामीले जनभाव र जनआकांक्षा अनुसार चल्नु नै देशको समृद्धि र विकासको लागि पहलकदमी लिनु हो जस्तो मलाई लाग्दछ। यतिबेलाको स्थानीय चुनाव होस् या संसदीय चुनाव, हजुर हामीहरुले जनताहरुको लहर अलि फरक र युवा पुस्तातिर बढिरहेको देख्यौं। चाहें त्यो जनलहर काठमाडौं, धरान र धनगढीका मेयरहरुको पक्षमा होस् या त अहिले विभिन्न पार्टीका युवा पुस्ताहरुको पक्षमा होस्। सम्पूर्ण नेपालीहरुले कुनै युवा पुस्ताहरुमा शाशनको बागडोर पुगोस्, अनि अलि सुशासन र अमनचयनको अनुभुती रहोस् भन्ने नै हो।
एकजना मान्छेले प्राप्त गर्नु पर्ने अलौकिक र अदभुत शक्ति र सामर्थ्य लोकप्रिय तवरले हजुरले हासिल गरिसक्नु भएको छ। अबपनि प्रधानमन्त्री हुने अभिलाषा राखेपनि हजुरको इतिहासमा जति अहिले नाम छ, त्यति नै हुनेछ वा लोकले अझै नकारात्मकताबाट हजुरलाई मुल्यांकन गर्न शुरु गर्नेछ। त्यो भन्दा बढि हजुरले अहिलेका युवा पुस्ताहरु जस्तै; गगण थापा, विश्व प्रकाश शर्मा तथा अन्य युवाहरुलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेर पार्टी सभापतिको रुपमा उहाहरुलाई निर्देशित गर्ने सम्मको काम भयो भने सांच्चै तपाईं प्रतिको नेपालीहरुको सम्मान उच्च र श्रद्धाले सधै महान रहिरहनुहुनेछ। सांच्चै तपाईलाई परिवर्तनको लागि वि.पी. कोइरालासंगै सहयात्री हुँदै उहाँको पथमा लम्किरहेको राजनैतिक सफल व्यक्तिकोरुपमा नेपाल र नेपालीले सम्झिरहनेछन्। यसर्थ नि, जनताका चाहनाहरुलाई मध्येनजर गरि अबको केहिदिनमा नेपालको इतिहासमा एक ड्रिमर युथलाई प्रधानमन्त्रीको लागि सिफारिस गरि आफू सधै उच्च सम्मानमा बाचिरहनुहुनेछ भन्ने अपेक्षा राखेको छु।
म तपाईकै शुभेच्छुक एक नेपाली
परिवर्तनको अपेक्षाकृत एक नेपाली
टंक प्रसाद के.सी.
कोहलपुर, बाँके