स्वास्थ कार्यालय रोल्पाको आयोजनामा नियमित खोपको सुदृढीकरण तथा पूर्णखोप सुनिश्चितता सम्बन्धि गाउँपालिका स्तरीय अभिमुखिकरण तथा विचार गोष्ठी कार्यक्रम माडी २ घर्तिगाउँमा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य निरीक्षक कृष्ण प्रसाद पोख्रेलको अध्यक्षता एवम् माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तिमगर, वडा अध्यक्षहरु, गाउँपालिका सम्बन्धित शाखा प्रमुखहरु र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बालबालिकालाई कसरी पुर्ण खोप सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनुका साथै खोपको वारेमा समेत अभिमुखिकरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माडी गाउँपालिका अध्यक्ष घर्तिमगरले माडी गाउँपालिका यसवर्ष पनि पुर्ण खोप सुनिश्चित पालिका घोषणा भएको स्मरण गर्दै खोपलाइ महत्त्वका साथ लिन सवैलाइ आग्रह गर्नुभयो । रोल्पामा हालको खोपको अवस्था अझैपनि सुधार गर्नुपर्ने देखिएको वताउदै स्वास्थ्य कार्यालय रोल्पाका जन स्वास्थ्य निरीक्षक पोख्रेलले खोप नै वालबालिकाको जीवन रहेको बताउनुभयो । कार्यक्रममा मातृ शिशु मृत्युदर कसरी कम गर्न सकिन्छ भन्ने वारेमा समेत छलफल गरिएको थियो ।
कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय रोल्पाका अरुण भिटु उपाध्यायले गर्नुभएको थियो ।