• एउटै दृष्टि, भिन्न कोण
  • Search

राज्यले बिर्सेकाे “घाेरनेटी” अस्पताल

रोल्पा २०८० पुष ३ गते मङ्गलवार

राेल्पाकाे माडी गाउपालिका वडा न-१( साविक ओत) मा पर्ने घाेरनेटी जनयुद्ध कालका प्रख्यात ठाउहरु मध्येकाे एक चर्चित ठाउँ हो। यस ठाउँमा ने क पा माओवादीले देशकै ठुलो जन नामुना अस्पताल घाेषणा गरेर बालकदेखि वृद्धासम्मलाई कठिन श्रमदान गराएकाे थियो। म सात कक्षामा पढ्दा १४ दिन श्रमदान गरेको स्मरण ताजै छ। मजस्ता धेरै विद्यार्थी तथा वृद्धवृद्धाले श्रमदान गरेका थिए। विभिन्न जन कारबाहीमा परेका जस्तै, मदिरा सेवन, बहुविवाह, बालविवाह, चाेरी, हत्या, जनयुद्धमा सहयोग नगरेका जस्ता मानिसहरूले महिनाैँ महिना श्रमदान गरेका थिए। राेल्पा लगायत छिमेकी जिल्लाहरू दाङ, सल्यान, रुकुम, बालुङ आदी जिल्लाबाट श्रमदान गर्न आएका थिए।

पहाडी विकट भु-भागमा सुविधा सम्पन्न भवनहरु र वरपरकाे पुर्वाधार संरचना राम्रो बनाईयाे। जनयुद्ध कालमा ठुलाठुला लडाइँमा घाइते रातारात जंगली बाटाे बाट जनतालाई बाेकाएर उपचार गराईन्थ्याे। उक्त अस्पतालमा स्वदेशी तथा विदेशी डाक्टरकाे पनि व्यवस्था गरिएको थियो। जापानी, अमेरिकी, काेरियन जस्ता विदेशी डाक्टर मानविय सेवामा नि:शुल्क अहाेरात्र खटिरहन्थे । झुल्नेटाकाे लडाइँमा घाइते भएका मानिसहरू रातारात घाेरनेटी पुर्याईएकाे थियो। त्यतिबेला जापानी डाक्टर लगायत स्वदेशी र विदेशी डाक्टर उपचारमा खटिएका थिए।

शान्ति प्रक्रिया पछि राज्यको दुरी घोरनेटी अस्पताल सँग टाढिदै गयो। त्यहाँ भएका सेवा सुविधामा क्रमशः खस्कदै गए । राेल्पालीकाे मुहारमा निराशा छाउदै गयो। आजकाल यि भवनहरुले राज्यलाई गिज्याईरहेछन्। धेरै दुख गरेर निशुल्क श्रमदान गरेको अस्पतालमा ठुला ठुला डाक्टर नर्सकाे व्यवस्था गरिने आसा बाेकेका जनतामा निराशा छाउदै गयो । गाउघरमा उपचार गराैँला भन्ने विचरा सिधा साेझा जनता बाँदरलाई हेरेर जिल्ला परेको गाेही जस्तै जिल्ल परेका छन्। विरामी उपचार गर्न अझै पनि दाङ,काठमाडौ पुग्नुपर्दा विगतको जनश्रमदान गराउने जनसरकार लाई धिक्कारिरहेका छन्। प्रश्न गर्छन् उत्तर भेटिदैन। नेता खाेज्छन् ती जननेता भेटाउदैनन्।आफुहरुले ठूलो मेहनत गरेर बनाएको संरचना “विना मान्छेको खाली” र “वेकाम्मे” निर्दाेषी आँखाहरु रसाउछन् । संरचनाहरु पनि वर्षेनि जिर्ण बन्दैछन् । सरसामान रातारात चाेरी भएर हराउँदैछन्।

जनताले आफ्नाे गाँस साँधेर ढिँडाे र गुन्द्रुक खुवाएर पालेका बेवारिसे मानिसहरू अहिले चिल्ला गाडी र दरबार जस्ता गगनचुम्बी भवनमा विलासी जीवन विताएकाे सुन्दा मुटु कटक्क खाईरहेछ । हिजो, तपाईंका छाेराछाेरी हाैँ, हामी बिर्सदैनाैँ, भेट्न आईरहन्छाै भनेर गएका ती मानिसहरू फर्केर नआउदा निर्दाेषी आखाले हेरिरहन्छ, निर्दाषी मन छटपटाई रहन्छ । झन् विग्रदाे सामाजिक परिवेशले दिनानुदिन विगतको झझल्को दिलाईरहन्छ। अबाेध जनता वर्षाैँदेखि कसैलाई पर्खिरहेका छन् र पर्खिरहने छन् ।

प्रतिक्रिया दिनुहोस