आजभोली सामाजिक संजालमा १२ कक्षा फेल हिन्दी फिल्मले चर्चा पाइरहेको छ। फेसबुक, टुइटर, युटुव लगायतका सामाजिक संजालमा कहानीले चर्चा बटुलीरहेको छ। यता शैक्षिक प्रमाणपत्रको मात्र काम नहुने अवस्था देखेर मैले मार्क कलेज घोराही दाङमा स्नातकोत्तरको पढाइ थोरै समयको अनुभवमा सिमित हुदै अहिलेलाई अध्ययनको यात्रालाई टुंग्याउने निधो गरिरहेको छु।
माध्यामिक शिक्षा रोल्पाको दुर्गम बिकट गाँउबाट नै अध्ययन गरेको मैले प्रमाणपत्र तह र स्नातक सम्मको पढाई दाङ जिल्लामै रहेर पुरा गर्न सफल भए, स्नातक तह सम्मपन्न गरेको उर्जा सँगै स्नातकोत्तर पूरा गर्ने रहर सहित मार्क कलेज बाटै पूरा गर्छु भनेर प्रवेश गरेको थिए। अध्ययन गर्नेहरुकालागि राम्रो अनि आफ्नो छुट्टै पहिचान बनाएको कुरा सुनेर उत्साहित म स्नातकोत्तर अध्ययन यहि प्रतिष्ठित कलेज बाट पुरा गर्छु भन्ने उत्साहकोसाथ यात्रा सुरु गरेको म अहिले बिचबाटो नपुग्दै अलमलिएको छु। कलेजको भौतिक संरचना, प्रशासनिक ब्यवस्थापन, प्राध्यापकहरु, अनि संगै अध्यापनरत साथीहरु सबै पक्षहरु सकारात्मक थियोे। अध्यनको वातावरण सकारात्मक हुदा पनि मेरो अध्ययनको रहर र मार्क कलेज संगको यात्रालाई यही टुंग्याउने सोचेमा पुग्दैछु।
करिब १६ बर्षको लामो अध्ययनको संघर्षमय यात्रामा आधा समय छिमेकी जिल्ला दाङमा रहेर अध्ययन गरेको छु। मेरो स्नातकोत्तर पढाईकोलागि लामो समय त भएको छैन नै, डेढ- दुई महिना मात्र अध्ययनको समय बनेको छ। स्नातकोत्तर अध्ययन बिट मार्नुको कारण के थियो, समय आएपछि पुन: यस बिषयमा अबश्य लेख्ने छु।
दुर्गम गाउबाट शहर छिरेको म, अध्ययनको समयमा थुप्रै कुराहरु सिक्ने अवसर पनि पाए, दुख कष्टकर यात्रमा निरन्तर दौडिन प्रयास गरे। अहिले म दुई बर्षको स्नातकोत्तर अध्यनलाई पुरा गर्न नसक्ने बाध्यात्मक परिस्थितिमा पुगेको छु। देशको बढ्दो बेरोजगारी समस्याले चर्चा पाइरहेको समयमा, अस्थिर राजनीति, प्राप्त शिक्षाबाट हासिल ज्ञान, सीप, क्षमता र दक्षता आदिको कारणले स्नातक सम्मको पढाई पुरा हुँदापनि न त स्व-रोजगार बन्न सके, न त कुनै सरकारी गैर सरकारी निकायमा जागिर खाने तारतम्य मिल्न सक्यो। ग्रामिण कम्जोर आर्थिक उत्पादन क्षेत्रमा हुर्केको र स्वरोवगार बन्न नसक्नु पनि स्नातकोत्तर अध्ययन पूरा गर्न नसक्ने एक हिस्सा बन्नेमा दुइमत छैन ।
उज्ज्वल भविष्यको चाहना राखेर विकट पहाड रोल्पाबाट शहरका विभिन्न गल्लीहरुमा आएर अध्ययन गर्न सजिलो पक्कै पनि थिएन। एक दशक शहरमा बसेर अध्ययन गर्दा कति चुनौतीको सामना गरेको छु, त्यो चुनौति सिकाइहरु जिवनको डायरीमा सुरक्षित छन। आजको मितिसम्म मैले आर्जन गरेको ज्ञान, सिपलाई प्रयोग गर्ने अवसर पाप्त हुने वातावरण नै देखिएन। डिग्रीधारी प्रमाणपत्र बोकेर मैले न रोजगार पाउन सके, न रोजगारीको ग्यारेन्टी छ, न अध्ययनबाट आत्मसन्तुष्टी नै पाउन सके।
दुई दशक लामो औपचारिक अध्ययनको यात्रालाई बिट मार्ने निर्णयमा पुग्दै गर्दा शैक्षिक यात्रालाई स्मरण गरे, रोल्पामा कक्षा १-४ सम्म अमर सत्य प्राथमिक विद्यालय झुलाउने टाकुरा, ५-८ सम्मको पढाई सरस्वती माध्यमिक बिदयालय बल्ले पोखरी, ९-१० पढाइ जिवनज्योति माद्यामिक बिद्यालय देवलटाकुरामा आरोह अवरोह पार गरे । कक्षा ७ मा पढ्दैगर्दा साथीहरुको लहलहैमा भक्तपुरको इँटा उद्योगमा कामगर्न पुगेको स्मरण गरिरहेको छु। सानै उमेर कामको खोजिमा भएको दुख पिडा स्मरण योग्य नै छन । त्यही पिडालाई सम्झेर पढाइलाई निरन्तरता दिएको थिए। कक्षा ८ को जिल्ला स्तरीय परिक्षामा प्रथम श्रेणामा पास गरेको मैले २०७१ सालमा एसएलसी परीक्षा सन्तोषजनक नतिजा लिएर उतिर्ण भएको थिए ।
कक्षा १० को परीक्षा दिए पश्चात् साथीहरुसँगको लहलहैमा घरमा सरसल्लाह नगरि भारतको उत्तराखण्ड प्रदेशका विभिन्न ठाँउमा ज्याला मजदुरी गरेको अनुभव पनि लिएको छुु। भारतमा काम गर्दा पाएको दु:खको तितो अनुभव झल्को बारम्बार आइरहन्छ। मजदुरी केही समय गरेपछि मनमा हजारौं सपनाहरू सजाय नेपाल फर्केर अध्ययन गर्न शहर छिरे म, त्यतिबेला शहर मेरोलागि निकै अपरिचित थियोे। न मैले शहरमा कसैलाई चिनेको थिए। २०७१ सालमा लिटिलहेभन माध्यमिक विद्यालयमा कमर्स पढने निर्णय गरे,
२०७४ सालमा कक्षा १२ को परिक्षा दिए, त्यसपछि फेरि भारतको हिमाञ्चल प्रदेशमा गएर केही समय काम गरे । राज्यले कमाउदै पढ्दै कार्यक्रम लागू गरिरहदा काला पहाडमा गएर कमाउनु अनि नेपाल फर्केर पढ्नु मेरो मजवुरी थियो । राज्यको नितिको पहुचमा म पुग्न सकेन, केही समय मजदुरी गरेर पुन: नेपाल फर्किएको थिए।
१०+२ अध्ययन पूरा पश्चात् घरको जेठो छोरा हुनुको नाताले घरको आर्थिक अवस्था, भाईबहिनिहरुको पढ्ने रहर पूरा गर्नलाई बिदेश जानुपर्छ भन्ने सोचाइ मनमा आयो। राहधानी बनाएर राजधानीका मेनपावरहरु पुगे, बिदेशको बारेमा सबै संग बुझे, बिदेशको काम, कमाउने तलब र समय यस्तै केहि कुरा नमिलेपछि होइन अझै पढ्नुपर्छ, पढेपछि केही नेपालमै गर्ने अवशर आइहाल्छ की भन्ने लाग्यो।
पुन: दाङ फर्किएर नोभेक्स कलेजमा स्नातक पढ्न सुरु गरे, स्नातक अध्ययनको समयमा निकै उतारचढाव आयो। पढ्दै कमाउदै गर्नुपर्ने सोच पलायो, एउटा रेडियोमा एक हप्ते पत्रकारिता तथा रेडियो उद्वघोषक तालिम संचालन सुचना पाए र तालिममा सहभागी भएपनि, तालिममा केही सिक्ने र आफ्नो रहर पुरा गर्ने उदेश्य थियो । तालिम पाएपछि २/३ वटा एफएम रेडियोहरुमा कार्यक्रम प्रस्तोताको रुपमा काम गरे। रेडियोमा सोचेजस्तो आर्थिक लाभ नहुने भएपछि काम छोड्ने निश्कर्ष गरे। पढाइ निरन्तरता सगै सुहाउँदो कामको खोजी पनि गरिरहे। स्नातक पास पछि पनि सुहाउँदो काम नपाउदा मनमा छट्पटी भइनैरह्यो।अध्ययनमा इमान्दारीता र लगनशीलतामा लाई कहिल्यै छोडेन। सक्दो कोशिस गरिरहे, सँधै लगनशीलतामा बिश्वास गर्ने म, तर जिन्दगीलाई आफैले धोका दिएको चाल पाएन । बायोडाटा बनाएर विभिन्न ठाउँमा दिए, चिनेजानेका सबैलाई काम मिलाईदिन अनुरोध गरे, अँह कहि कतै मेरो केही चलेन। उता बाह्र कक्षा फेलको पात्र आइपिएस बनिरहदा म भने नेपालमा काम नपाउने निश्चित भएर पुन: मरुभूमिको यात्रा तय हुनेमा फरक मत रहेन नै । नेपालको शिक्षा नेपाली जनजिविका सुहाउदो नहुनु पनि बिडम्वना रहेछ।
उता आइपिएस बनेर बधाई थापिरहदा यता म भने रोजगारीको खोजिमा थाकिसके! थाकिसके!! थाकिसके !!!