• एउटै दृष्टि, भिन्न कोण
  • Search

यी गल्तीले गर्दा हुन्छ गर्भमै बच्चालाई ‘मुटुरोग’

काठमाडौ २०८० पुष २८ गते शनिवार

कतिपय जन्मजात बच्चामा मुटुरोग देखिन्छ। जन्मजात मुटुरोग भन्नाले जन्मँदै मुटु भित्रको विभिन्न भाग तथा मुटु बाहिरका धमनीहरुको बनावटमा गडबडी भएर आउने मुटुको रोग हो। अर्थात आमाको गर्भमा हुँदै यो रोग भइसकेको हुन्छ। जन्मजात मुटुरोग सय जनामा एक जनालाई हुने सम्भावना हुन्छ। जन्मजात नै मुटुरोग देखिएपछि आमा–बुबा चिन्तित बन्नु स्वाभाविक भयो। रोग देखिएमा उपचार सम्भव छ कि छैन? पहिलो चिन्ता भयो।

जन्मजात मुटुरोग मुख्यतया आमाको गर्भमा मुटुको विभिन्न भागहरु जस्तै रक्तनलीहरु, मुटुको तल र माथीको पर्दा, मुटुका भल्भहरुको अस्वाभाविक विकासक्रमबाट हुने गर्दछ। फलस्वरूप मुटुको कोठाबीचका पर्दाहरुमा प्वाल पर्ने, रक्तनलीहरु र भल्भहरु खुम्चिने, रक्तनलीहरु उल्टो दिशाबाट विकसित हुने, भल्भहरु आंशिक वा पूर्णरुपमा बन्द हुने, मुटुको विशेष दायाँ वा बाँया भाग अविकसित हुने आदि विभिन्न समस्याहरु हुन सक्दछन्।

चिकित्सकहरू जन्मजात बच्चामा हुने मुटुरोगका अनेकन कारणहरू रहेको र विश्वमा बच्चाको मृत्यु हुनुमा मुटुरोग पनि एक प्रमुख कारण रहेको बताउँछन्।

बच्चाहरूमा दुई थरीका मुटुरोग लाग्छ। एउटा जन्मजात लाग्ने हुन्छ भने अर्को जन्मेपछि लाग्ने रोग हुन्छ।

जन्मजात लाग्ने मुटुरोग भनेको गर्भमा हुँदा लाग्ने रोग हो। बच्चामा देखिने मुटुरोगहरूमा बढी जन्मजात नै लाग्ने गर्छ। बच्चामा देखिने मुटुरोगमा जन्मजात लाग्ने रोग करिब ८०–९० प्रतिशत र जन्मेपछि लाग्ने मुटुरोग १५–२० प्रतिशत हुने चिकित्सक बताउँछन्।

गर्भमा नै मुटुरोग लाग्‍नुको कारण

गर्भमा हुँदा नै बच्चाको मुटु प्वाल पर्ने, धमनी गडबड हुने हुन्छ। यस्तो समस्या सय जना बच्चामध्ये १५ जनामा देखिने विभिन्न अध्ययनले देखाउँछ। यी समस्या देखिनुमा विभिन्न कारणहरू हुन्छन्। ती कारणमध्ये ९० प्रतिशत कारण थाहा नै हुँदैन।

विशेषतः गर्भमा हुँदा मुटुरोग लाग्ने भनेको आमाको कारण र बंशानुगत हुन्छन्। आमाका कारण गर्भमा बच्चा (भ्रूण)‍ तीन महिनाको हुँदा बढी मुटुरोग लाग्ने गर्छ।

तीन महिनाको अवस्थामा शिशुलाई एकदमै जटिलताको अवस्था मानिन्छ। यो समयमा विभिन्न किसिमको भइरसले इन्फेक्सन (संक्रमण) हुने सम्भवना हुन्छ। आमाले चिकित्सकको सल्लाहबिना विभिन्न किसिमको औषधीको प्रयोग गर्ने, मध्यपान तथा धुम्रपान गर्ने, भिडियो एक्सरे गर्दा, आमालाई ब्लटप्रेसर भएमा मुटुरोग लाग्ने बढी सम्भावना हुन्छ।

अर्को वंशाणुगत गुणले गर्दा पनि गर्भमा हुँदा नै मुटुरोग लाग्ने गर्छ। एबनर्मल (आँखा नमिलेको, टाउको नमिलेको) बच्चामा पनि मुटुरोग देखिने सम्भावना हुन्छ। वंशानुगत रोग एकमदै कम लाग्ने गर्छ।

जन्मेपछि किन लाग्छ मुटुरोग?

बच्चालाई जन्मेपछि पनि मुटुरोग लाग्ने गर्छ। जसमा विभिन्न कारणहरू हुन्छन्। बच्चामा देखिने कडाखालको रोगले मुटुमा समस्या देखिन सक्छ। जसमा बाथ रोग एक हो। बच्चालाई बाथ ज्वारो भएमा त्यसले मुटुमा समस्या पुर्याउँछ। बाथ ज्वारोले मुटुको भल्भ बिग्रियो भने त्यसलाई बाथ मुटुको रोग भनिन्छ। यसले मुटुको भल्भहरू बिगार्छ। यो समस्या ५–१५ वर्ष उमेर समूहका बालबालिकालाई देखिन्छ।

यस्तै जन्मिएपछि भल्भहरू बिग्रने, मुटुभित्र विभिन्न कारणले संक्रमण हुन्छ। मुटुमा मासु पलाउने पनि हुन्छ। यो पनि जन्मपछि मुटुमा देखिने समस्या हुन्। बच्चालाई ब्लडप्रेसर हाई (उच्च रक्तचाप)हुँदा मुटुमा समस्या देखिन्छ।

मुटुरोग लागेमा बच्चाहरूमा देखिने लक्षणहरू

मुटुरोग लागेपछि देखिने लक्षणहरू जन्मजात र जन्मेपछि लाग्ने रोगका फरक–फरक हुन्छन्। जन्मजात मुटुरोगका लक्षण भनेको कुनै–कुनै मुटुमा सानो प्वाल भएको हुन्छ।

मुटुमा प्वाल परे पनि त्यसको लक्षण देखा पदैन भने पत्ता लगाउन समय लाग्ने हुन्छ। जन्मजातमा अर्को लक्षण भनेको बच्चा निलो हुर्ने र निलो नहुने पनि हुन्छ। जस्तै जिब्रो, शरीरका अंगहरू, आँखा जन्मदै निलो हुन्छ।

कुनै बच्चा जन्मेपछि निलो हुँदै जान्छन्। जस्तै रुँदा कराउँदा बच्चाहरू निलो देखिने हुन्छ। बच्चा ठूलो हुँदै गएमा तौल बढ्नुपर्ने बच्चाको तौल नबढने, सास फेर्न कठिन हुने, हिड्दा–हिड्दै छिटो थकित हुने हुन्छ।

मुटु रोग लागेमा बच्चा निलो हुने मात्र होइन। निलो नहुने मुटुरोग पनि हुन्छ। मुटुको दुई वटा पर्दामा प्वाल पर्ने, तल–माथि जनसुकै ठाउँमा सानो प्वाल परेमा मुटु खुम्चिने हुन्छ। यसो भएमा बच्चा निलो हुँदैनन्।

यस किसिमको मुटुरोग लागेमा बच्चालाई छिटो लक्षण देखिदै र, मुटुरोग पत्ता लगाउन धेरै समय लाग्ने गर्छ।

यस किसिमको रोग पत्ता लगाउन बच्चाहरूलाई रुघाखोकी वा टाइफाइड भएमा उपचारमा डाक्टरले बच्चाको स्पेशल(छुट्टै)अवाज सुन्ने गर्छन्।

जन्मेपछि मुटुरोग लागेका बच्चामा भने हाडजोर्नीहरू सुन्निने, दुख्ने, हातखुट्टा चलाउँन नसकिने, हिड्न गाह्रो हुने हुन्छ। कसै–कसैको छालामा डाबर(कालो धब्बा)आउने, हातखुट्ट झमझमाउने, कमजोरी हुँदै जाने हुन्छ।

रोकथाम कसरी गर्ने ?
रोग लागेकामध्ये १० प्रतिशतमा मात्र कारण पत्ता लाग्ने भएकोले रोगको रोकथामको सम्भावना न्यून मात्र छ।तर केहि कुरामा ध्यान पुर्‍याउन सकेमा केहि हदसम्म यो रोगबाट बच्न सकिन्छ।

-उच्च रक्तचाप, मधुमेह तथा अन्य रोग भएका गर्भवती महिलाले उक्त रोगलाई नियन्त्रणमा राख्ने।
-तनावबाट मुक्त रहने, उचित खानपिन र पौष्टिक आहारमा ध्यान दिने।
-पहिलो तीन महिनाको गर्भावस्थामा माथी उल्लेखित विभिन्न भाइरल इन्फेक्सनबाट बच्ने। गर्भ रहने सक्ने उमेरका महिलाले रुबेला भाईरस बिरुध्द खोप लगाउने।
-गर्भवती महिलाले चिकित्सकको सल्लाह बिना जथाभाबी औषधि, चुरोट तथा अल्कोहल सेवन नगर्ने, विकिरणको प्रभावबाट बच्ने।
-आयोडिनयुक्त नूनको प्रयोग तथा फोलिक एसिड मिश्रित खाना प्रशस्त खाने।
-नजिकको नातेदारबीच बैबाहिक सम्बन्ध नराख्ने आदि।

(शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत रहेकी बालमुटुरोग विषेशज्ञ उर्मिला शाक्यसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको सामग्री)

प्रतिक्रिया दिनुहोस