दाङको घोराहीमा रहेको कोर्चाबाङ सेवा समितीले लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्री दिपेन्द्र कुमार पुनमगर “सिजल” लाई एक कार्यक्रमको आयोजना गरि बधाई सम्मान गरेको छ । रोल्पाको कोर्चावाङमा जन्मिएका मन्त्री पुनलाइ घोराहीमा रहेको कोर्चाबाङ सेवा समितीले बधाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा प्रबक्ता दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले आफूलाई लुम्बिनी प्रदेश सरकारको मन्त्री बनाउने शहीदहरुको बलिदान र जनताको योगदान भएकोले जनताको शिरउच्च हुने गरी नै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मन्त्री पुनले भन्नुभयोः–“मलाई जसरी २०७४ मा प्रदेश सभा सदस्य र २०७९ सालको निर्वाचनमा पनि प्रदेश सभामा विजयी गराउनु भयो, यो शहीदहरुको बलिदान, कार्यकर्ताको योगदान र आम जनताको मतबाट भएको हु, मैले तपाईले दिएको मत खेर जान दिने छैन।
मन्त्री पुनमगरले आफूहरु जति माथिल्लो पदमा पुगेपनि आफ्नो माटो र भुगोलप्रति त्यतिनै बढी मायाँ रहेको बताउनुभयो। मन्त्री पुनमगरले यस्तो विचार कोर्चाबाङ सेवा समाजले दाङ को घोराहीमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रमलाई सम्वोधन गर्दै बताउनु भएको हो । उहाँले जसले माटो र भुगोलप्रतिको माया नहुने हो भने आफ्नो अपनत्व नहुने र त्यसले आत्मीयता नबढाउने तर्क प्रस्तुत गर्नुभयो ।
पञ्चायतकालमा माननीय बमकुमारी बुढामगरले शुरुवात गरेको स्मरण गराउदै माननीयको क्रममा धेरै समयपछि कोचाबाङबाट आफू मन्त्रीमा नियुक्ती भएपछि मात्रै निरन्तरता पाएको बताउनुभयो । कोर्चाबाङ राजनीतिक र शैक्षिक हिसावले विगतदेखी नै अग्र स्थानमा भएपनि अब आर्थिक समृद्धी तर्फ अगाडि बढाउनु पर्नेमा जोड दिनुपर्ने, सेवा समाजलाई आम समाजको लागि सेवामुखी कार्यमा लगाउनु पर्ने सुझाव दिनुभयो । समाजको एकता नै समृद्धिको आधार भएको र त्यस तर्फ ध्यान दिनुपर्ने उहाको भनाइ थियो ।
कोर्चाबाङ सेवा समितिका अध्यक्ष नन्दबहादुर घर्तीमगरको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव महावीर घर्तीमगरले सञ्चालन भएको थियो।