काठमाडौं । बिहान नेपाली मिडियामा खबर फैलियो । धन्नले ठूलो दुर्घ’टनाबाट बच्यो सिता एअरको विमान । यो विमानको इन्जिन उडेको ३ मिनेटमा नै फेल भएको थियो । विमानको ईन्जिन आकाशमै फेल भएपनि पाइलटको कुशलताका कारण यो विपद् टरेको हो । हो, पाइलट भरत थापाको कुशलताका कारण विमान दुर्घटना हुनबाट जोगियो ।
स्याङ्जा घर भएका थापा अनुभवि क्याप्टेन हुनुहुन्छ । सीता एयरको ड्रोनियर एन–एजेएच कलसाइन भएको विमानले उडेको ३ मिनेटपछिको २९ मिनेट एउटै इन्जिनको भरमा लुक्लादेखि काठमाडौंसम्मको उडान भर्नुपरेको थियो ।
विमानमा थापासहित चालक दलका ३ सदस्य मात्रै थिए । काठमाडौंबाट पर्यटक लिएर लुक्ला पुगेको विमान फर्कने क्रममा चालक दलका सदस्य मात्रै थिए । जहाज उडानकै क्रममा प्राविधिक समस्या आए पनि सकुशल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण भयो । क्याप्टेन थापाको कुशलताका कारण उहाँसहित विमानमा रहेका अन्य चालक दलका सदस्यको ज्यान बचेको थियो ।
उक्त जहाज बिहान ८:२१ मा काठमाडौ विमानस्थलमा अवतरण गरेको हो । जहाजमा आएको खराबीबारे प्राबिधिक टोलीले अध्ययन गरिरहेको छ ।


