सुनछहरी गाउँपालिका वडा नम्बर ५ पोबाङमा रहेको पोबाङ स्वास्थ्य चौकी ५ शैय्याको अस्पताल बन्ने भएको छ। उपराष्टपतिका स्वकीय सचिव सुकबहादुर रोकामगरले नयाँ निर्माण हुन लागेको भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको छ । सरकारले सबै नागरिकलाइ आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्य सहित अस्पताल नभएका देशभरका ६ सय ४९ स्थानिय तहमध्य पहिलोचरणमा लुम्बिनी प्रदेशका ६० सहित देशभर ३ सय ९६ मा आज एकैदिन अस्पताल निर्माण सुरु गर्ने भए अनुसार निर्माण कार्य उद्घाटन भएको हो ।
अस्पताल भवनको निर्माण कार्य आउँदो वर्षको असार महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताए । अध्यक्ष पुनका अनुसार संघिय सरकारको स्थानीय तहमा १५ शैय्याको अस्पतालमा स्तर उन्नति गर्ने कार्यक्रम अन्तर्गत पोबाङ स्वास्थ्य चौकीलाई ५ शैय्याको अस्पतालको स्तर उन्नतिको लागि संघीय सरकारबाट ७० लाख रकम विनियोजन भएको छ।अब छिट्टै टेन्डर प्रक्रिया मार्फत भवन निर्माण गर्ने योजना रहेको छ।
पोबाङ स्वास्थ्य चौकी वि.स. २०४५ सालाम स्थापना भएको थियो।त्यो भन्दा पहिले जिल्ला स्वास्थ्य कार्यालयले तत्कालीन सेरम गाउँ बिकास समितिमा स्थापना गरेको थियो र पछि जिल्ला स्वास्थ्य कार्यालय नै स्थानान्तरण गरि बि.स. २०४५ सालबाट सेरम स्वास्थ्य चौकी पोबाङ स्थापना भएको स्थानीय बुद्धिजीवी सुनबहादुर पुनमगरले बताउछन । उनका अनुसार पोबाङमा स्वास्थ्य चौकी स्थापना भए पछि स्वास्थ्य चौकीको आफ्नै भवन नभएकोले पोबाङकै स्थानीय सरु पुनको घरमा ३ वर्ष घरभाडामा लिएर स्वास्थ्य सेवा प्रदान गरेको पछि स्थानीय अगुवाको पहलमा जिल्ला बिकास समितीले आर्थिक अनुदान प्रदान गरि स्वास्थ्य चौकीको लागि आफ्नै दुई वटा भवन बने पछि आफनै भवनबाट सेवा प्रदान गरेको थियो।
अहिले पोबाङ स्वास्थ्य चौकीबाट दिइने सेवाहरुमा प्रवद्दनात्रमक सेवा, प्रतिकारात्मक सेवा र उपचारात्मक सेवा जस अन्तर्गत ओपिडी सेवा, खोप सेवा,गर्भवती जाँच सेवा,सुत्केरी जाँच सेवा,सुरक्षित मातृत्व सेवा, गाउँघर क्लिनिक सेवा, परिवार नियोजन सेवा,प्राथमिक उपचार सेवा, किशोरकिशोरी मैत्री सेवा, टिबी उपचार सेवा, कुष्ठरोग उपचार सेवा,योन रोग तथा एचआईभी एडस सेवा,वृद्धि अनुगमन सेवा, राष्ट्रिय भिटामिन ए कार्यक्रम,महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम,महामारी नियन्त्रण कार्यक्रम,पोषण सेवा,बालरोग तथा नवजात शिशु स्याहार सेवा लगाएतका सेवा रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक जगत बुढाले बताए ।
यस स्वास्थ्य चौकीमा कार्यालय सहयोगी सहित छ जनाको दरबन्दी रहेको छ।