भु–सेवा संचालन गर्ने रोल्पाको माडी गाउँपालिका जिल्ला मै पहिलो स्थानीय तह भएको छ ।
मंगलबार माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर (मित्रमणी) ले जनप्रिय आधारभुत बिद्यालय माडी ३ भस्माखोरलाइ जग्गादान गर्नुहुने स्थानीय जनताको काम भएको लिखत हस्तान्तरण गरेर सो सेवा उद्घाटन गरेका हुन् ।
संघीय संरचना कार्यान्वयन भइ तिन तहको सरकार अन्र्तगत स्थानीय सरकारले एक कार्यकाल पुरा गरिसकेका छन । यसै आधारमा सरकारले पहिलो चरणमा नमुनाको रुपमा केहि स्थानीय तहमा मालपोत कार्यालयको प्रारम्भिक कार्य भु–सेवा संचालन गर्न आह्वान गरिरेको नै छ । त्यसैले रोल्पाको माडी गाउँपालिकले समेत कार्यपालिको निर्णय गरेर मालपोत कार्यालय घर्तिगाउँबाट अनुमति लिइ भु–सेवा आजबाट शुरु गरेको छ ।
अव लेखापढी व्यवसायीहरुले गर्ने काम पालिकाले आफै राजश्व लिएर गर्नेछ । मंगलबारबाट शुरु भएको भु–सेवामा एक हप्तासम्म निशुल्क सेवा प्रदान गर्ने र त्यसपछि कर्मचारी नियुक्ति गरेर न्युन शुल्कमा सेवा सेवा प्रदान हुने गाउँपालिका अध्यक्ष घर्तिमगरले बताए ।
पालिकाले अन्लाइन मार्फत सेवाग्राहीको कार्य सम्पन्न गरी मालपोत कार्यालयमा पठाएपछि सेवाग्राही मालपोत जानुपर्नेछ । तत्कालको लागि लेखापढी व्यवसायीलाइ पनि अवरोध नगरेको भएपनि सरकारको नितिलाइ बिस्तारै लागु गर्ने पालिकाले जनाएको छ । भु–सेवा संचालनमा आएपछि रोल्पाको माडी, परिवर्तन, गंगादेव, थवाङ, त्रिवेणी गाउँपालिकाका जनताले माडी गाउँपालिकाबाट नै भु–सेवा मार्फत सेवा लिन पाउनेछन ।
गाउँपालिका मै जग्गाको लिखत तयार हुने भएपछि जनताले न्युन शुल्कमा नै लेखापढी कानुन व्यवसायी बिना नै सरकारी तवरबाट सेवा पाउनेछन । सो कामको लागि गाउँपालिकले कार्यपालिकाको निर्णय अनुसार २ जना कर्मचारी करारमा नियुक्त गर्नेछ ।