नेपालको इतिहासमा २०६२/६३ को जनआन्दोलनले ठूलो परिवर्तन ल्यायो। राजसंस्था अन्त्य भएर गणतन्त्र स्थापनाको यात्रा सुरु भयो। त्यो बेलाका राजनीतिक दलहरू यति क्रान्तिकारी भए कि “हिजोको राजा आजको सामान्य नागरिक” भन्ने नाराले सडक ततायो। उनीहरूले प्रजातन्त्रका नाममा जनताको अभिमतलाई आत्मसात् गर्दै राजतन्त्रलाई संग्रहालयमा पठाए। तर, आज फागुन २५ गते, देशभर ‘पूर्वराजा फर्किँदैछन्’ भन्ने हल्लाले चिया पसलदेखि सामाजिक सञ्जालसम्म तरंग ल्याएको छ। के हामी गणतन्त्र गणना गर्दैछौं कि राजतन्त्र पुनः गणना गर्दैछौं?
राजनीतिक दलको संकल्प: राजसंस्थाको अवसान
२०६२/६३ को जनआन्दोलनअघि राजनीतिक दलहरू आपसी आरोप-प्रत्यारोपमै व्यस्त थिए। कांग्रेसीहरू आफ्नै गुटको गफमा मस्त, कम्युनिष्टहरू आ-आफ्नै सिद्धान्तको पोका बोकेर अलमलमा, अनि राजावादीहरू आफ्नै सिंहासन बलियो छ भन्ने भ्रममा। आन्दोलन सुरु भएपछि सबैले अचानक गणतन्त्रको आवाज निकाल्न थाले। तत्कालिन माओवादी पार्टीले राजसंस्थाविरोधी अभियानलाई तिब्र बनायो। नेपाली कांग्रेस र नेकपा एमालेले पनि अन्ततः राजसंस्थाको अन्त्य नै उत्तम विकल्प हो भन्दै सहमति जनाए।
सिंहदरबारमा बसेर गणतन्त्रको झण्डा हल्लाउने सपना देख्ने नेताहरू सडकमा ओर्ले। “राजा फाल्ने” र “नयाँ नेपाल बनाउने” अठोट गर्दै जनता भड्काए। आन्दोलनले गति लियो, राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन छाड्न बाध्य भए, अनि देश गणतन्त्रको बाटोमा लाग्यो।
राजसंस्था हटाउने अभियान सफल भएपछि राजनीतिक दलहरूलाई देश बनाउनुपर्ने चुनौती थियो। तर, उनीहरू राज्यको पुनःसंरचनाभन्दा बढी आफ्ना नाफा-घाटा गणना गर्न लागे। सिंहदरबारको ढोका सबैका लागि खुला भयो, तर जनताका लागि होइन, नेताहरूका लागि मात्र। संसद्मा पुगेपछि ‘गणतन्त्रको रक्षक’ भनिनेहरू नै भ्रष्टाचार, ठेक्कापट्टा, र घोटालामा मुछिए। ‘लोकतन्त्रको मर्म’ बुझाउनेहरू नै ‘कमिसनको धर्म’ सिकाउन थाले।
गणतन्त्रको नारा लगाउनेहरू नै महँगा सवारीसाधनमा सयर गर्न थाले, सस्तो गफ दिनेहरू नै महँगा देशमा उपचार खोज्न थाले। ‘जनताको शासन’ भनियो, तर जनताले शासन गर्ने होइन, नेताले जनतालाई शासन गर्ने व्यवस्था बनाइयो।
फागुन २५ को हल्ला: राजा फर्कँदैछन्?
यसैबीच, आज फागुन २५ गते, देशभर एउटा नयाँ हल्ला चलिरहेको छ – “पूर्वराजा फर्किँदैछन्!” गणतन्त्र ल्याउनेहरू नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको देखेर कतिपय नागरिक पुनः राजसंस्थालाई सम्झन थाले। सामाजिक सञ्जालमा “राजसंस्था नै ठीक थियो” भन्ने चर्चा सुरु भयो।
तर, राजा फर्कनु भनेको के? उनी विमानबाट त्रिभुवन विमानस्थल झर्ने कि हेलिकप्टरमा नारायणहिटी दरबार ओर्लिने? कि पोखरा बाट काठमान्डौ फर्कने मात्रै हो । यदि काठमान्डौ फर्कने हो भने किन देशमा राजा फर्कने भन्ने उनि देशमै त छन नि ?
राजसंस्थाको अन्त्य गर्ने दलहरू नै आज सत्ता जोगाउन हदैसम्मको सम्झौता गरिरहेका छन्। चुनावको बेला ‘गणतन्त्र जिन्दाबाद’ भन्ने नेताहरू नै आज ‘संवैधानिक राजतन्त्र’ सम्भव छ कि भनेर दाबी गरिरहेका छन्।
गणतन्त्रको गणना कि राजतन्त्रको पुनरागमन?
गणतन्त्र आयो, तर आम नागरिकलाई के फाइदा भयो? बेरोजगारी बढ्यो, भ्रष्टाचार मौलायो, शिक्षा र स्वास्थ्य व्यवसायीकरण भयो। चुनाव आउँदा जनता भगवान्, जितेपछि जनता दास। यस्तो अवस्थामा केहीले राजसंस्थालाई विकल्पको रूपमा हेर्न थालेका छन्।
तर, प्रश्न छ – के राजा फर्के भने देश बदलिन्छ? कि फेरि पुरानै शासकीय प्रणाली फर्केर ‘हिजोको राजा’ भोलिको ‘शक्ति केन्द्र’ बन्दछ?
आजको दिनले एउटा महत्त्वपूर्ण संकेत गरिरहेको छ – जनता निराश छन्, उनीहरू विकल्प खोजिरहेका छन्। गणतन्त्रको रक्षा गर्ने कि राजतन्त्रलाई पुनःस्थापित गर्ने भन्ने बहस सुरु भएको छ।
तर, अन्ततः कुरा जनताको हो। जनता परिवर्तन चाहन्छन्, तर परिवर्तनको नाममा फेरि इतिहास दोहोरिनुहुन्न। गणतन्त्र होस् कि राजतन्त्र, शासन व्यवस्था जनता केन्द्रित हुनुपर्छ, नेताहरू केन्द्रित होइन।